टीकापुर

टीका र जमरासँगै सखियाको रौनक, थारू बस्तीमा दसैको बेग्लै उमंग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकाापुर, २ कार्तिक । मादलको ताल, कृष्णलीलामा आधारित गीत र गोलो घेरामा हात समातेर नाचिरहेका युवतीहरू। पश्चिम तराईका थारू बस्तीमा दसैँको आगमनसँगै देखिने यो दृश्यले पर्वको रौनक मात्र बढाउँदैन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिलाई पनि जीवन्त बनाउँछ।

लोक कल्याणकारी विज्ञापन

थारू समुदायमा दसैँलाई ‘दश्या’ भनिन्छ। घटस्थापनामा जमरा राखेसँगै सुरु हुने पर्वमा कुलदेवताको पूजा, पितृको सम्झना र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। साँझ परेपछि गाउँका चोक, आँगन र चौतारामा सखिया नाच सुरु हुन्छ। मादलको तालमा गुञ्जिने कृष्णलीलाका गीतसँगै थारू बस्ती सांस्कृतिक उत्सवमा रूपान्तरण हुन्छन्।

लोक कल्याणकारी विज्ञापन

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू बस्तीमा यतिबेला दसैँको चहलपहलसँगै सांस्कृतिक गतिविधि बढेका छन्। थारू समुदायले माघी र अट्वारीपछि दसैँलाई महत्त्वपूर्ण पर्वका रूपमा मनाउँदै आएका छन्। तर, स्थानअनुसार पर्व मनाउने विधि र परम्परामा केही भिन्नता पाइन्छ।

बिज्ञापन

टीकापुरका थारू अगुवा फिरुलाल चौधरीका अनुसार घटस्थापनामा मकैको जमरा राखेपछि समुदायमा दसैँको औपचारिक सुरुवात हुन्छ। परम्परागत रूपमा मकै प्रमुख अन्नबाली रहेकाले जमराका रूपमा मकै प्रयोग गर्ने चलन बसेको धनगढीका प्रभु चौधरी बताउँछन्।

कैलालीका थारू अगुवा दीलबहादुर चौधरीका अनुसार महाअष्टमीको साँझ घरघरमा कुलदेवतालाई रक्सी, ढिक्रीलगायतका परिकार चढाएर पितृको सम्झना गर्ने चलन छ। कतिपय ठाउँमा कुभिण्डोको बलि दिने परम्परा पनि छ। नवमीका दिन पितृका नाममा श्राद्ध गरी भात, माछा र विभिन्न तरकारी टपरीमा राखेर प्रसाद चढाइन्छ। साँझ नदी किनारमा पुगेर मादल बजाउँदै कुलदेवता र पितृको पूजा गर्ने चलनसमेत रहेको उनी बताउँछन्।

दसैँको मुख्य दिन मान्यजनबाट टीका र आशीर्वाद लिइन्छ। कतिपय बस्तीमा भलमन्साको घरबाट सामूहिक रूपमा टीका लगाउने क्रम सुरु हुन्छ। अन्य समुदायमा रातो टीका लगाउने चलन भए पनि थारू समुदायमा परम्परागत रूपमा सेतो अक्षताको टीका लगाउने प्रचलन रहेको स्थानीय बताउँछन्। सेतो अक्षतालाई शान्तिको प्रतीकका रूपमा लिने गरिएको टीकापुरका राजकुमार चौधरी बताउँछन्। पछिल्लो समय भने रातो टीका लगाउने चलन पनि बढ्दै गएको उनको भनाइ छ।

‘पुरानो चलनमा धेरै फेरबदल आइसकेको छ,’ चौधरी भन्छन्, ‘थारू संस्कृतिका कतिपय मौलिक पक्ष हराउँदै जान थालेका छन्।’

कृष्णलीलामा आधारित सखिया

दसैँको सांस्कृतिक रौनकलाई थप जीवन्त बनाउने सखिया नाच थारू समुदायको विशिष्ट पहिचान हो। थारू भाषामा ‘सखी’ भन्नाले साथीसङ्गी बुझिन्छ। साथीहरू मिलेर सामूहिक रूपमा नाचिने भएकाले यसलाई सखिया भनिएको थारू अगुवाहरू बताउँछन्।

सखिया नाच मनोरञ्जनमा मात्र सीमित छैन। यसले गाउँका परिवारलाई एकै ठाउँमा भेला गराउने, आपसी सम्बन्ध बलियो बनाउने र सामाजिक सद्भाव कायम राख्ने माध्यमको काम गर्छ।

‘नाचको बहानामा सबै परिवार एक ठाउँमा जम्मा हुन्छन्। यसले मेलमिलाप र भ्रातृत्वको भावना बढाउँछ,’ दीलबहादुर चौधरी भन्छन्।

नाच सुरु गर्नुअघि गुरुवाले मादल, मञ्जीरा लगायतका बाजागाजाको पूजा गर्छन्। नाचमा कुनै बाधा नआओस् र गाउँको रक्षा होस् भन्ने विश्वासका साथ गाउँका देवीदेवताको पूजा गर्ने परम्परा रहेको राजकुमार चौधरी बताउँछन्। बडघर र गाउँका भद्रभलादमीले पनि यसको संरक्षणमा भूमिका खेल्ने गरेका छन्।

सखिया नाचमा मुख्यतः महिलाहरू सहभागी हुन्छन्। उनीहरू सेतो फरिया र रातो चोलिया लगाएर नाच्छन् भने पुरुषले धोती र कमिज लगाएर मादल बजाउँछन्। कम्तीमा दुई जना मादलेको सहभागिता आवश्यक मानिने यस नाचमा मादलको ताल र आवाजले विशेष रौनक थप्छ। मुख्य मादलेको मादललाई रङ्गीचङ्गी कपडाले सजाउने चलनसमेत छ।

नाचका गीत भगवान् कृष्णको जीवनलीलामा आधारित हुन्छन्। गीतको कथ्य र लयअनुसार नाच अघि बढ्ने भएकाले कृष्णलीलासम्बन्धी गीत नसकिएसम्म नाच जारी रहने परम्परा छ। कृष्ण जन्माष्टमीदेखि सुरु हुने सखिया नाच घटस्थापनापछि थप व्यापक बन्छ।

संस्कृति जोगाउने सामूहिक अभ्यास

दसैँका बेला गाउँका घरघरमा पुगेर सखिया नाच्ने चलन छ। दिनभरको काम सकेर साँझ भेला हुने महिला तथा युवतीहरू मादलको तालमा नाच्छन्। नाच टोलीलाई घरमूलीले आफ्नो गच्छेअनुसार दक्षिणा दिने गर्छन्। यसले कलाकारलाई प्रोत्साहन दिनुका साथै समुदायबीचको आत्मीयता बढाउँछ।

पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो जीवनशैलीका कारण परम्परागत संस्कृतिमा परिवर्तन आउन थालेको अगुवाहरू बताउँछन्। यस्तो अवस्थामा सखिया नाचलाई नयाँ पुस्तासम्म पुर्‍याउनु र यसको मौलिकता जोगाउनु चुनौतीका रूपमा देखिएको छ।

कृष्णलीलाका गीत, मादलको ताल र सामूहिक नृत्यले सखिया नाचलाई थारू समुदायको सांस्कृतिक धरोहरका रूपमा स्थापित गरेको छ। यसमा दसैँको उल्लाससँगै पुर्खाको सम्झना, सामाजिक एकता र सामूहिक जीवनशैली पनि जोडिएको छ।

त्यसैले थारू बस्तीमा दसैँ टीका र जमरामा मात्र सीमित हुँदैन। सखिया नाचमार्फत आफ्नोपन, परम्परा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसरका रूपमा पनि यो पर्व मनाइन्छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन