आस्था /आध्यात्म

धनगढीमा दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शन हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २१ असोज । थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको सखिया नाच दशैंको अवसरमा धनगढीमा विशेष रूपमा प्रदर्शन गरिने भएको छ। दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शनी–२०८३ मूल आयोजक समितिले असोज २१ गते बुधबार धनगढी उपमहानगरपालिकाको परिसरमा कार्यक्रम आयोजना गर्न लागेको हो।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रमबारे जानकारी दिन सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिकी संयोजक सानू चौधरीले सखिया नाचको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।

लोक कल्याणकारी विज्ञापन

उनका अनुसार कृष्णलीला तथा महाभारतका कथावस्तुमा आधारित गीतमा युवतीहरूले सामूहिक रूपमा गायन गर्ने र युवाहरूले मादलको तालमा साथ दिने सखिया नाच थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था, कला, भाषा, परम्परा र सामाजिक एकताको प्रतीक हो।

लोक कल्याणकारी विज्ञापन

परम्परागत रूपमा अष्टिम्की पर्वदेखि सुरु भएर दशैं हुँदै दीपावलीसम्म करिब एक महिनासम्म गाउँघरमा सखिया नाच प्रदर्शन गर्ने चलन छ। तर पछिल्लो समय शिक्षा, रोजगारी, वैदेशिक पलायन र बदलिँदो सामाजिक परिवेशका कारण यो परम्परा छोटिँदै र सीमित हुँदै गएको आयोजकले जनाएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने र सखिया नाचको संरक्षण तथा पुस्तान्तरणका लागि सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले एकदिने विशेष कार्यक्रम आयोजना गर्न लागिएको चौधरीले बताइन्।

कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा थारू समुदायका कलाकार, युवायुवती, संस्कृतिकर्मी तथा संस्कृति संरक्षणमा रुचि राख्ने विभिन्न सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमलाई केवल नृत्य प्रदर्शनमा सीमित नराखी थारू समुदायको मौलिक संस्कृति, भाषा, कला, परम्परा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियानका रूपमा अघि बढाइनेछ।

लोक कल्याणकारी विज्ञापन
AD