घटना

बाँकेमा बहिनीको घरबाट नगद र सुन चोरी गरेको आरोपमा दाइ फरार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँके , २ कार्तिक । आफ्नै दाइलाई विश्वास गरेर घरमा पाहुना राखेकी बाँकेको खजुरा गाउँपालिका–४, ई गाउँकी ममता खत्रीको घरबाट नगद ९५ हजार रुपैयाँ र एक तोला दुई आना सुन चोरी भएको छ। चोरीमा आफ्नै दाइ मोहन खत्री संलग्न रहेको आरोप लगाउँदै ममताले प्रहरीमा निवेदन दिएकी छन्।

लोक कल्याणकारी विज्ञापन

ममताका अनुसार उनका ४२ वर्षीय दाइ मोहन भदौ ४ गते एक युवतीलाई साथमा लिएर घर आएका थिए। दाइ र उनकी साथीलाई उनले विश्वासका साथ घरमा बस्ने व्यवस्था मिलाएकी थिइन्। उनीहरू करिब डेढ महिनादेखि घरमा बस्दै आएका थिए।

लोक कल्याणकारी विज्ञापन

असोज १९ गते ममता आफ्ना १४ वर्षीय छोरासँग किनमेलका लागि भारतको रुपैडिहा गएको मौका पारेर घरमा चोरी भएको उनको भनाइ छ। घर फर्किएपछि दराजमा राखेको नगद र सुन नभेटिएपछि आफूले चोरी भएको थाहा पाएको उनले बताइन्।

बिज्ञापन

ममताका अनुसार घरमा विभिन्न प्रयोजनका लागि छुट्याएर राखेको ९५ हजार रुपैयाँ र एक तोला दुई आना सुन चोरी भएको हो। उक्त रकम अरूलाई बुझाउनुपर्ने भएकाले आफू थप समस्यामा परेको उनले बताइन्।

‘दाइ आफ्नै हुन्, बहिनी सम्झेर विश्वासका साथ घरमा बस्न दिएँ। उहाँले यस्तो विश्वासघात गर्नुहोला भन्ने सोचेकी थिइनँ,’ ममताले भनिन्, ‘अहिले म र मेरा छोराछोरी मात्रै छौँ। यो घटनाले निकै पीडा दिएको छ।’

उनका अनुसार घरका ढोका र दराजका चाबी आफैँसँग लिएर बाहिर गएकी थिइन्। फर्किंदा ढोका बन्द अवस्थामै देखिए पनि दराजमा राखेको नगद र सुन हराएको उनले बताइन्। दाइ र उनकी साथीका कपडा तथा झोलालगायतका सामान भने घरमै छाडिएको उनको भनाइ छ।

घटनाबारे ममताले इलाका प्रहरी कार्यालय धनौलीमा निवेदन दिएकी छन्। चोरीको आरोप लागेका मोहनको खोजीका लागि उनले जानकारी दिनेलाई १५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको पनि बताइएको छ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईंले घटनाबारे जानकारी प्राप्त भएको र आरोपितको खोजतलास भइरहेको बताएका छन्।

आफन्तलाई विश्वास गरेर घरमा राख्दा यस्तो घटना भएपछि आफूहरू पनि चिन्तित भएको स्थानीयको भनाइ छ। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पाइए कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।

प्रहरी अनुसन्धान जारी रहेकाले चोरीमा आरोपित व्यक्तिको संलग्नता र घटनाको वास्तविक विवरण पुष्टि हुन बाँकी छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन