आस्था /आध्यात्म

नेपाल–भारत सम्बन्ध संस्कृति र आत्मीयताले जोडिएको छ- मुख्यमन्त्री रेखा गुप्ता (दिल्ली)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्लीमा १५ हजार नेपालीको तीज, बाढीपीडितलाई ४० लाख सहयो

लोक कल्याणकारी विज्ञापन

नयाँदिल्ली, २० सेप्टेम्बर । भारतको राजधानी नयाँदिल्लीमा करिब १५ हजार नेपालीको सहभागितामा हरितालिका तीज समारोह सम्पन्न भएको छ । दिल्ली सरकारको सहयोगमा ‘हाम्रो स्वाभिमान ट्रस्ट’ले आइतबार इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको कार्यक्रममा नेपाली कला, संस्कृति र एकताको प्रदर्शनसँगै नेपालका बाढीपीडितका लागि सहयोग जुटाइएको हो ।

गत १३ सेप्टेम्बरमा आयोजना गर्ने तय भएको कार्यक्रम दिल्लीमा भएको ब्रिक्स सम्मेलनका कारण एक साता सारिएको थियो । २० सेप्टेम्बरमा आयोजित तीज कार्यक्रममा गत वर्षभन्दा उल्लेख्य बढी नेपाली सहभागी भएको आयोजकको दाबी छ । दिल्ली सरकारले नेपाली समुदायका लागि यति ठूलो स्तरमा तीज कार्यक्रमलाई प्रत्यक्ष सहयोग गरेको यो पहिलोपटक भएको आयोजकले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, पतञ्जली योगपीठका स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा दिल्लीका संस्कृति मन्त्री कपिल मिश्रा लगायतको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै स्वामी रामदेवले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायसँग आफ्नो परिचय रहेको उल्लेख गर्दै नेपालीहरू इमानदार, मेहनती र आफ्नो संस्कृति तथा परम्परासँग गहिरो रूपमा जोडिएको बताए । उनले तीज समारोहबाट नेपालका बाढीपीडितका लागि करिब ४० लाख रुपैयाँ सहयोग जुटेको भन्दै आयोजक र सहभागीलाई धन्यवाद दिए ।

आचार्य बालकृष्णले दिल्लीमा भएको यो अहिलेसम्मकै ठूलो तीज समारोह भएको बताए । उनका अनुसार कार्यक्रम सफल बनाउन ‘हाम्रो स्वाभिमान’को टोली तीन–चार महिनादेखि तयारीमा जुटेको थियो ।

मुख्यमन्त्री रेखा गुप्ताले नेपाल–भारत सम्बन्ध सदियौँ पुरानो रहेको उल्लेख गर्दै नेपाली महिलाहरू रातो साडी, चुरा, पोते र बिन्दीमा सजिएर तीज मनाउन भेला हुनु नेपाली संस्कृति र पहिचानको प्रतीक भएको बताइन् ।

संस्कृति मन्त्री कपिल मिश्राले गत वर्ष तीज कार्यक्रममा सहभागी भएपछि दिल्लीमा ठूलो संख्यामा नेपालीले यो पर्व मनाउने जानकारी आफूले पाएको बताए । त्यसपछि आफूले मुख्यमन्त्रीसमक्ष विषय राखेको र दिल्ली सरकारले अर्को वर्षदेखि कार्यक्रम आयोजना गर्ने निर्णय गरेअनुसार यसपटक पूर्ण सहयोग गरिएको उनको भनाइ थियो ।

नेपालमा बाढीपहिरोबाट ठूलो क्षति भएका कारण यस वर्ष तीज मनाउने वा नमनाउने विषयमा बहस भइरहेका बेला आयोजकले ‘विपद्लाई शक्तिमा बदल्ने’ मूल भावसहित कार्यक्रम गरेको जनाएको छ । समारोहमा नेपाली कला–संस्कृतिको प्रवर्धन, नेपाल–भारत मैत्री, योगको प्रचार तथा बाढीपीडितका लागि आर्थिक सहयोग संकलनलाई मुख्य प्राथमिकता दिइएको थियो ।

कार्यक्रममा गायक प्रकाश सपूत, इन्द्रेणी टोलीका कृष्ण कँडेल, मनमाया वाइबा, कृष्ण बजगाईं, छत्र शाही र दीपक घिमिरे तथा गायक–गजलकार थानेश्वर गौतम र गायिका आशा बीसीले प्रस्तुति दिए । कृष्ण कँडेलले बाढीबाट नेपालमा भएको क्षतिको पीडा गीतमार्फत प्रस्तुत गर्दै सहयोगका लागि अपिल गरे । प्रकाश सपूतले बाढीका बाबजुद नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिँदै भारतीय नागरिकलाई नेपाल भ्रमणको निम्तो दिए । असामकी बाल कलाकार आध्याश्री उपाध्यायले पनि नृत्य प्रस्तुत गर्दै बाढीपीडितलाई सहयोग गर्न आह्वान गरिन् ।

समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘हाम्रो गौरव अवार्ड’बाट सम्मान गरिएको थियो । जैव विविधतामा पद्मश्री गम्भीरसिंह योञ्जन, आजीवन उपलब्धिमा भोपालसिंह नेपाली, प्रशासनिक सेवामा देवराज उपाध्याय, संगीतमा शान्ति ठटाल, व्यवसाय तथा उद्यमितामा कृष्ण कडाडिया, खेलकुदमा पद्मश्री जितु राई र पूर्वभारतीय राष्ट्रिय फुटबल कप्तान सुनिल क्षेत्री, कला–संस्कृतिमा विनोद खनाल, साहित्य तथा शिक्षामा डा. गोकुल सिन्हा, महिला सशक्तीकरणमा एसपी यमुना थापा तथा कृषि र जैविक खेतीमा भावेश निरौलालाई सम्मान गरिएको थियो ।

समारोहले नेपाली पर्वलाई भारतको राजधानीमा सार्वजनिक रूपमा प्रवर्धन गर्नुका साथै विपद्का बेला प्रवासी नेपाली समुदायको एकता र मातृभूमिप्रतिको दायित्वसमेत प्रस्तुत गरेको आयोजकको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन