रसुवा बाढीपीडित २१ परिवारलाई टीकापुरका टोल विकास संस्थाको सहयोग

कैलाली — रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित टीकापुर नगरपालिका–१ का २१ परिवारलाई टोल विकास संस्था वडा सञ्जाल जमरापारीले आर्थिक सहयोग गरेको छ।

वडा सञ्जालमा आबद्ध ३१ टोल विकास संस्थामध्ये ११ संस्थाले संकलन गरेको ७६ हजार ६ सय ५ रुपैयाँबाट पीडित परिवारलाई जनही ३ हजार ६ सय रुपैयाँका दरले सहयोग गरिएको वडा सञ्जालका अध्यक्ष झलनाथ खनालले बताए।

वडा सञ्जालको पहलमा टोल विकास संस्थाबाट रकम संकलन गरी पीडित परिवारलाई वितरण गरिएको सञ्जालका सचिव अमितकुमार चौधरीले जानकारी दिए। उनका अनुसार दुर्गानगर टोल विकास संस्थाले १० हजार ३ सय, गौरीशंकरले १० हजार १ सय ६०, उपहारले १० हजार २ सय, शान्तिले ९ हजार ६ सय ७० र डाफेमुनालले ७ हजार ४ सय १५ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै सगरमाथा टोल विकास संस्थाले ५ हजार ५०, जीवन सुधारले ५ हजार, सम्वितिले ५ हजार १ सय ५५, सुभनगरले ५ हजार, राज टोल विकास संस्थाले ५ हजार ५ सय ५५ र महिमाले ३ हजार १ सय रुपैयाँ संकलन गरेका थिए।
संकलित सहयोग रकम टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्। बाढीका कारण रोजगारी तथा आम्दानीको स्रोत प्रभावित भएका परिवारलाई स्थानीयस्तरबाट संकलित सहयोगले राहत पुग्ने अपेक्षा गरिएको वडा सञ्जालले जनाएको छ।

