३७औं साधारण सभाको पूर्वसन्ध्यामा सडकपुर–बौनियामा गुञ्जियो सत्संग, सेवा र सुमिरणको सन्देश

सडकपुर–बौनिया, ३ असोज । सन्त निरंकारी मण्डल नेपालको ३७औं साधारण सभाको पूर्वसन्ध्यामा कैलालीको सडकपुर–बौनियास्थित सत्सङ्ग भवनमा आयोजित विशेष सत्सङ्ग समारोहमा वक्ताहरूले मोह–माया, भ्रम र विकारबाट माथि उठ्दै सत्संग, सेवा, सुमिरण तथा मानव कल्याणको मार्गमा अघि बढ्न आग्रह गरेका छन्।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलजीले उपस्थित साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो कि सतगुरु माता सुदीक्षा जी महाराजको असीम कृपा र पावन आशीर्वादले देशका विभिन्न स्थानबाट साधसङ्गत सत्संग भवनमा उपस्थित हुन सकेको बताउँदै सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रकृतिबाट परोपकारको शिक्षा लिनुपर्ने उल्लेख गर्दै वृक्षले आफ्नो फल आफैं नखाने र नदीले आफ्नो पानी आफैं नपिउने उदाहरण प्रस्तुत गर्नुभयो। सन्त–महात्माहरू पनि यही भावनाबाट प्रेरित भएर परोपकार र मानव सेवामा समर्पित रहने उहाँले बताउनुभयो।

‘तुलसी दया न छोडिए, जब लग घटमे प्राण’ भन्ने महापुरुषहरूको वचन स्मरण गर्दै रावलले जीवनको अन्तिम क्षणसम्म दया, करुणा, नम्रता, मधुर वाणी र सद्भाभाव कायम राख्नुपर्नेमा जोड दिनुभयो। श्रीमद्भगवद्गगीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको ‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज’ भन्ने उपदेशको प्रसङ्ग उल्लेख गर्दै उहाँले मानिसभित्र रहेका काम, क्रोध, मोह, लोभ, अहंकार र वासनाजस्ता विकार त्यागेर परमात्माको शरणमा जानुपर्ने बताउनुभयो। सतगुरुको दिव्य ज्ञान र कृपाबाट परमात्माको सत्य परिचय प्राप्त हुने उल्लेख गर्दै उहाँले भक्ति, सत्संग र सेवाको महत्त्वसमेत औल्याउनुभयो।
रावलजीले सन्त निरंकारी मिसनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै सन् १९२९ मा तत्कालीन पाकिस्तानको पेसावरबाट सुरु भएको आध्यात्मिक यात्राले विभिन्न चुनौती पार गर्दै विस्तार पाएको बताउनुभयो। नेपालमा विसं २०२० सालतिर सुदूरपश्चिमको अछामस्थित गोइलापानीबाट मिसनको सुरुआत भएको उल्लेख गर्दै उहाँले अहिले देशका ३९ भन्दा बढी जिल्लामा आफ्नै भवनसहित मिसनका गतिविधि विस्तार भएको जानकारी दिनुभयो।


‘जागृति’को अर्थ केवल निद्राबाट ब्यूँझनु नभई अज्ञानता र भ्रमबाट ज्ञान तथा सत्यतर्फ अघि बढ्नु रहेको उहाँले बताउनुभयो। मानिस भौतिक मोह र भ्रमको निद्रामा परेको उल्लेख गर्दै रावलजीले सतगुरुको ज्ञान र भक्तिमार्फत चेतनाको जागरण आवश्यक रहेको धारणा राख्नुभयो। चौरासी लाख योनिपछि प्राप्त भएको अमूल्य मानव जीवनलाई सार्थक बनाउन परमात्मालाई चिन्नुपर्ने बताउँदै उहाँले सतगुरुले मानव जीवनलाई सही मार्ग देखाउन गरेको उपकारको ऋण कहिल्यै तिर्न नसकिने उल्लेख गर्नुभयो।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनजीले ‘ब्रह्मको प्राप्ति, भ्रमको समाप्ति’ भन्ने सन्देशमार्फत ब्रह्मज्ञानले मानिसलाई भ्रमबाट मुक्त गराई सही मार्गमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो। आफू भ्रमबाट मुक्त हुनुका साथै अरूलाई पनि सत्य र सही मार्गमा अघि बढ्न सहयोग गर्नु नै ठूलो सेवा भएको उहाँले उल्लेख गर्नुभयो।


मण्डलका सहसचिव नरबहादुर विकजीले निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई विशुद्ध आध्यात्मिक संस्था भएको बताउनुभयो। मिसनका मुख्य दुई आयाम आध्यात्मिक जागृति र समाज कल्याण रहेको उल्लेख गर्दै उहाँले ब्रह्मज्ञानमार्फत परमात्माको अनुभूति तथा समाजमा विद्यमान असमानता र विभेद अन्त्य गर्दै परोपकारको भावनामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सबै प्राणी परमात्माका सन्तान भएकाले जात, लिङ्ग, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद गर्न नहुने उहाँको भनाइ थियो। रक्तदान, नेत्रदान, विपद्मा सहयोग तथा सामाजिक सेवामार्फत एकताको भावना विकास गर्नुपर्ने उहाँले बताउनुभयो।


केन्द्रीय सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाजीले भक्ति रचना प्रस्तुत गर्दै जीवन क्षणभङ्गुर रहेकाले समयमै भक्ति, सत्सङ्ग र प्रभुको भजनमा लाग्नुपर्ने सन्देश दिनुभयो। संसारका मोह–मायामा अल्झिनुभन्दा जीवनको आधार परमात्मालाई सम्झँदै मानव जीवनको सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो।


केन्द्रीय सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक बाबुराज महर्जनजीले सन्तत्व केवल मीठो बोली वा बाहिरी व्यवहारमा नभई जीवनका हरेक पक्षमा देखिनुपर्ने बताउनुभयो। विभिन्न स्थानबाट साधसङ्गत एकत्रित भएर सत्संग, सेवा र सन्तहरूको वाणीमा सहभागी हुनु सतगुरुको कृपा र आत्मप्रेरणाको परिणाम भएको उहाँले बताउनुभयो। आफ्नै अन्तरआत्माबाट जागेर सेवा र सत्संगमा अग्रसर हुनु सन्तको गुण भएको उहाँको भनाइ थियो।
उहाँले लुधियानामा बैंक लुटेर फरार भएको एक डाकु बाहिरी रूप परिवर्तन गरे पनि आफ्नै बानीका कारण पक्राउ परेको प्रसङ्ग सुनाउँदै बाहिरी रूपभन्दा भित्री चरित्र परिवर्तन आवश्यक रहेको बताउनुभयो। प्रेम, सेवा, विनम्रता र सद्भभावजस्ता गुण व्यवहारमा उतारे मात्र सन्तत्व सार्थक हुने उहाँले उल्लेख गर्नुभयो।


केन्द्रीय सदस्य दलबहादुर रानाजीले बाबा हरदेव सिंह महाराजको ‘सुन्नु–सुनाउनु भन्दा कर्म गरेर देखाउनु जीवनको परम लक्ष्य हो’ भन्ने सन्देश स्मरण गर्दै सतगुरुको संकेत र शिक्षाअनुसार कर्ममा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सत्संगमा उपस्थित सन्त–महात्माहरूलाई बधाई दिँदै कार्यक्रम व्यवस्थापनमा योगदान गर्ने सडकपुर बौनियाका महात्माहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।
केन्द्रीय सदस्य बेचु रजकजीले प्राप्त अमूल्य ज्ञानलाई मानवताको सेवामा सदुपयोग गर्दै दासत्व भावका साथ सतगुरु, सेवा र सुमिरणमा अघि बढ्नुपर्ने बताउनुभयो। जनकपुरको एक घटनाको प्रसङ्ग उल्लेख गर्दै उहाँले ब्रम्हज्ञानको प्राप्ति व्यक्तिगत इच्छा वा प्रयासले मात्र नभई परमात्माको इच्छाबाट सम्भव हुने बताउनुभयो। धादिङ–रसुवालगायतका विपद्का घटनाले जीवनको अनिश्चितता र मानवताको महत्त्व सम्झाइरहेको उल्लेख गर्दै उहाँले समय रहँदै असल कर्म गर्न आग्रह गर्नुभयो। धन, यौवन र शक्तिको अभिमान नगरी विनम्रताका साथ मानव सेवामा लाग्नुपर्ने उहाँको भनाइ थियो।


केन्द्रीय सदस्य पुष्पा दांगीजीले संसारको मोह–मायाभन्दा माथि उठेर सत्संग, सेवा र सुमिरणको मार्गमा निरन्तर अघि बढ्नुपर्ने बताउनुभयो। सतगुरुको कृपाले सबै सन्त–भक्तलाई यस मार्गमा निरन्तर लागिरहन प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभयो।

केन्द्रीय सल्लाहकार श्रीराम काफ्लेजीले सतगुरु माताजीको कृपाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सन्त–भक्तहरू एउटै उद्देश्यका साथ मिसन, निरंकार परमात्मा र शान्तिको सन्देश विस्तारमा लागिरहेको बताउनुभयो। जीवनमा रहेका अवगुण, खराब विचार र भावनालाई त्याग्दै असल कर्म र सद्भभाव अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। ढुङ्गालाई मूर्तिको स्वरूप दिँदा अनावश्यक भाग हटाइने उदाहरण दिँदै उहाँले मानिसले पनि आफ्ना कमजोरी हटाएर जीवनलाई सही मार्गमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले मानिस विभिन्न गुण र भौतिक आकर्षणको प्रभावमा रहने भएकाले सत्व, रज र तमोगुणभन्दा माथि उठेर निराकार परमात्माको शरणमा जानुपर्नेमा जोड दिनुभयो। काम, क्रोध, मोह, लोभ र अहंकारजस्ता विकार त्याग्दै ज्ञानदृष्टिबाट जीवनलाई हेर्न सके दुःखबाट मुक्ति, शान्ति र आनन्द प्राप्त हुने उहाँको भनाइ थियो। सतगुरुको माध्यमबाट प्राप्त ज्ञानले मानिसको दृष्टि र जीवनशैलीमा परिवर्तन ल्याउने उल्लेख गर्दै उहाँले मानव जीवनलाई सार्थक बनाउन परमात्माको अनुभूति र भक्तिको मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो।
स्मृति नानीले अंग्रेजी भाषाको सहारा लिँदै जागरण भनेको केवल आँखा खोल्नु नभई भित्री चेतना र आध्यात्मिक सचेतनाको जागरण भएको बताइन्। सतगुरुको मार्गदर्शन र दिव्य ज्ञानले अज्ञानताको अन्धकार हटाई सत्य, प्रेम, विश्वास, विनम्रता र सेवाको भावना विकास गर्ने उल्लेख गर्दै उनले वास्तविक जागरण भनेको परमात्मालाई जान्नु, आफ्नो वास्तविक स्वरूप पहिचान गर्नु, मानवताको सेवा गर्नु र सत्संगमा सहभागी हुनु रहेको बताइन्।

धरानका नगेन्द्र ढुंगानाजीले ब्रह्मज्ञानले मानिसलाई जीवनको उद्देश्य र मानव जीवनको महत्त्व बुझ्न सहयोग गर्ने बताउनुभयो। ब्रह्मज्ञान प्राप्त गरेपछि जीवनलाई सद्कर्म र मानव सेवामा समर्पित गर्नुपर्नेमा जोड दिँदै उहाँले मानिसको जीवन फूलजस्तै हुनुपर्ने बताउनुभयो। फूलले मुस्कुराउँदै सुगन्ध फैलाएझैँ मानिसले पनि आफ्नो कर्म र व्यवहारबाट प्रेम तथा सकारात्मकताको सुगन्ध फैलाउनुपर्ने उहाँको भनाइ थियो।
सन्त निरंकारी मण्डलका पूर्व ज्ञानप्रचारक महात्मा नवल सिंह बोहराजीले मानवले बाहिरी कर्मकाण्डभन्दा निराकार ब्रह्मको ज्ञान प्राप्त गर्नुपर्ने बताउनुभएको छ। सत्संगलाई सम्बोधन गर्दै उहाँले संसार सत्व, रज र तम तीन गुणबाट प्रभावित रहेको उल्लेख गर्दै मानव ती गुणभन्दा माथि उठ्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार दान, तप, तीर्थ, व्रत र धर्मजस्ता कर्म गरिए पनि त्यसको वास्तविक उद्देश्य आत्मज्ञान प्राप्त गर्नु हो। निराकार ब्रह्म साकार रूपमा प्रकट हुँदा सद्गुरुको स्वरूपमा मानवले सत्यको ज्ञान प्राप्त गर्ने उहाँले बताउनुभयो। ज्ञानदृष्टिले हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि दुःख, अशान्ति र भ्रमबाट मुक्ति मिल्ने उहाँको भनाइ थियो। त्यसबाट मानवले सुख, शान्ति, मोक्ष र आनन्दको अनुभूति गर्न सक्ने उहाँले बताउनुभयो। मानव जीवनको उद्देश्य बाह्य संसारमा अल्झिनुभन्दा सत्य र निराकारको ज्ञान प्राप्त गर्नु रहेको उल्लेख गर्दै उहाँले ज्ञान र भक्तिमार्फत जीवनको वास्तविकता बुझ्न सके मात्र मुक्ति र आनन्दको मार्ग खुल्ने बताउनुभयो।

सम्पूर्ण मुखीहरूको तर्फबाट बौनियाका मुखी विजय सिंह कुँवरजीले सद्गुरु माताजीको असीम कृपाले विभिन्न स्थानबाट आएका सन्त–भक्तलाई दर्शन तथा सत्सङ्गमा सहभागी हुने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो। टाढा–टाढाबाट कष्ट सहेर कार्यक्रममा उपस्थित भएका सन्त–भक्तहरूप्रति आभार व्यक्त गर्दै उहाँले कार्यक्रम व्यवस्थापनका क्रममा कुनै कमी–कमजोरी भएको भए क्षमायाचना गर्नुभयो।
कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका सन्त–भक्तहरूले भजन तथा प्रवचनमार्फत आफ्ना भाव प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन रामचन्द्र भट्टराईजीले गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन हुने साधारण सभाको सम्पूर्ण खाना तथा आवासको व्यवस्था स्थानीय बौनियाका साधसङ्गतले गरेका छन्।

कार्यक्रमका तस्बिर मण्डलका फोटोग्राफर दीपक रावलजी तथा सहयोगी तेजबहादुर बोहराजीले उपलब्ध गराएका छन्। साधारण सभा भोलि पनि सञ्चालन हुनेछ।
सतगुरु समापनपछि विभिन्न विषयमा सहभागी सन्त निरंकारी मण्डलका केन्द्रीय पदाधिकारी, सेवादल सञ्चालक–सञ्चालिका, मुखी सत्संग इन्चार्जलगायत जिम्मेवार सदस्यहरूलाई सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलजी, केन्द्रीय सचिव अनिल महर्जनजी, सहसचिव नरबहादुर विकजी, कोषाध्यक्ष कृष्णकन्हैया पाठकजी, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालजी र केन्द्रीय सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक बाबुराज महर्जनजीले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणमा समेटिएका विभिन्न विषय र सन्देशबारेको विस्तृत समाचार भोलिको अंकमा प्रकाशित गरिनेछ।


You must be logged in to post a comment.