सहयोग तथा उदार

दुःखमा गाउँको साथ : भोटेकोशी बाढीमा बेपत्ता टीकापुर–५ का सात परिवारलाई १ लाख ३८ हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर , १ असोज । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी टीकापुर नगरपालिका–५ मनिकापुरका सात जना सम्पर्कविहीन भएपछि उनीहरूका परिवारलाई स्थानीयस्तरबाट आर्थिक सहयोग गरिएको छ। विभिन्न टोल विकास संस्था, वडा सञ्जाल, गाउँ–समाज तथा विद्यालयले संकलन गरेको रकम प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो।

टीकापुर नगरपालिका–५ वडा सञ्जालका अध्यक्ष सिंहराज मगरको नेतृत्वमा संकलित रकम वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो। संकलित रकममध्ये १ लाख ३८ हजार ५ रुपैयाँ सात जना प्रभावित परिवारलाई समान रूपमा वितरण गरिएको छ प्रत्येक परिवारले १९ हजार ७१५ रुपैयाँ प्राप्त गरेका छन्। भैरव टोल विकास संस्था, बनकट्टीबाट संकलित थप २१ हजार रुपैयाँ भने भौचरमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने जनाइएको छ।

पीडित परिवारलाई प्रत्यक्ष राहत पुगोस् भन्ने उद्देश्यले स्थानीयस्तरमा रकम संकलन गरिएको हो। कर्मिडाँडा टोल विकास संस्थाबाट १० हजार १२०, पहाडीपुरबाट १० हजार १००, शिवगंगाबाट ९ हजार ५, लालीगुराँसबाट ४ हजार ९९५, मिलनबाट ३ हजार ९५५, प्रगतिबाट ३ हजार ४२०, साईबाबाबाट ३ हजार ८३० र कालिकाबाट ४ हजार ८४५ रुपैयाँ संकलन भएको थियो।

त्यस्तै, बाढीपीडित टोल विकास संस्थाबाट ४ हजार २०५, कर्णालीबाट ३ हजार २९५, महालक्ष्मीबाट ५ हजार, शुभकामनाबाट ४ हजार ३९५, वंगलापुर महेन्द्रबाट ३ हजार १००, विन्ध्यावासिनीबाट ५ हजार ५०० र कालिका देवीबाट ५ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको थियो।

शान्ति टोल विकास संस्थाबाट २ हजार ८२५, कार्यविनायकबाट ६ हजार २०, नागरिकबाट ५ हजार ८२०, अस्मीकरणबाट ३ हजार ६८०, प्रेमनगरबाट ७ हजार, ओजरियाबाट ८ हजार ४५, गोचालीबाट ५ हजार ६९५, इच्छाशक्तिबाट ५ हजार ५०५ र मिलनसारबाट ४ हजार ३०० रुपैयाँ संकलन गरिएको थियो। श्री राष्ट्रिय माध्यमिक विद्यालय, मनिकापुरका विद्यार्थीले पनि १० हजार २५ रुपैयाँ सहयोग गरेका छन्।

‘अत्तोपत्तो छैन, तर सकुशल फर्कने आशा छ’

वडा नम्बर ५ का वडाध्यक्ष बलवीर थारूले बाढीमा बेपत्ता भएकामध्ये केही आफ्नै भाइ, दाइ, जेठान तथा आफन्तसमेत रहेको बताए। घटना भएलगत्तैदेखि बेपत्ताको खोजी तथा उद्धारका लागि निरन्तर पहल भइरहेको उनले बताए।

उनका अनुसार भदौ ११ गते बिहानैदेखि बेपत्ता व्यक्तिको पहिचान, फोटो तथा आवश्यक कागजात संकलन गरी वडा कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको थियो। नगरपालिकाको विपद् शाखा, उद्धार टोली तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बेपत्ताको विवरण पठाउने र खोजी कार्यको अवस्थाबारे जानकारी लिने काम भइरहेको उनले बताए।

बाढी आएको २२ दिन बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता लाग्न नसकेको भन्दै थारूले परिवारजनको पीडा थप गहिरिएको बताए।

‘अहिलेसम्म उहाँहरूको अत्तोपत्तो छैन, तर सकुशल उद्धार हुने आशामा हामी निरन्तर प्रार्थना गरिरहेका छौँ,’ उनले भने।

कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवारमा आर्थिक समस्या थपिएको भन्दै उनले दैनिक जीवनयापनमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको बताए। बेपत्ताको खोजीका लागि रसुवाका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग निरन्तर सम्पर्क भइरहेको उनले जानकारी दिए।

आफूहरू पनि घटनास्थल पुगेर खोजी कार्यमा सहयोग गर्ने तयारीमा रहे पनि नुवाकोटभन्दा अगाडिको सडक अवरुद्ध भएकाले तत्काल घटनास्थल पुग्न नसकिएको थारूले बताए। पीडित परिवारलाई आफूहरू एक्लो नरहेको अनुभूति गराउन गाउँ–समाज, टोल विकास संस्था र स्थानीय सरकार निरन्तर साथमा रहने उनले बताए।

विद्यार्थीले खाजा खर्च कटाएर सहयोग गरे

श्री राष्ट्रिय माध्यमिक विद्यालय, मनिकापुरका शिक्षक जगदीश चौधरीका अनुसार विद्यार्थीले करिब सात–आठ दिन लगाएर सहयोग रकम संकलन गरेका हुन्। रेडक्रस, क्लब तथा विभिन्न संघसंस्थाले बाढीपीडितलाई सहयोग गरिरहेका बेला आफूहरूले पनि समाजको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाले विद्यार्थीले रकम संकलन गरेको उनले बताए।

‘हाम्रा साना–साना बालबालिकाले खाजा खाने खर्च कटाएर सहयोग गर्न देखाएको भावना प्रशंसनीय छ,’ चौधरीले भने।

विद्यालयबाट संकलित रकम पनि वडा कार्यालय तथा टोल विकास सञ्जालमार्फत प्रभावित परिवारसम्म पुर्‍याइएको उनले जानकारी दिए।

वडा सञ्जालका सचिव विजय सार्कीका अनुसार वडा नम्बर ५ का २५ वटा टोलका प्रतिनिधिबीच छलफल गरी सहयोग रकम संकलन गर्ने निर्णय गरिएको थियो। ‘विदेशीहरूले समेत सहयोग गरिरहेका बेला हाम्रै देशका नागरिक भएर हामीले पनि सहयोग गर्नुपर्छ भन्ने सोचले रकम संकलन गरेका हौँ,’ उनले भने।

संकलित रकम आफैं वितरण नगरी पारदर्शी र व्यवस्थित रूपमा प्रभावित परिवारसम्म पुर्‍याउन वडा कार्यालयलाई हस्तान्तरण गरिएको सार्कीले बताए।

सात परिवारलाई समान रकम

सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक जगदीश चौधरीले सम्पर्कविहीन रहेकी सम्झना चौधरीका सम्पर्क व्यक्ति आसिका चौधरीलाई रकम हस्तान्तरण गरे। वडा सञ्जालका अध्यक्ष सिंहराज मगरले सम्पर्कविहीन विष्णु चौधरीकी छोरी आसिका चौधरीलाई रकम हस्तान्तरण गरेका थिए।

त्यस्तै, चन्द्रबहादुर थारुका सम्पर्क व्यक्ति पञ्ची चौधरीलाई सहयोग रकम हस्तान्तरणका लागि कार्यक्रममा आमन्त्रण गरिएको थियो। चन्द्रबहादुरको अवस्था हालसम्म पनि अज्ञात छ। वासमोती कुमारी चौधरीको तर्फबाट सहयोग रकम बुझ्न चुम्की थारूका सम्पर्क व्यक्ति पूर्ण बहादुर चौधरीलाई आमन्त्रण गरिएको थियो।

वडा सदस्य बलराम चौधरीमार्फत धनुवा थारूका सम्पर्क व्यक्ति ठगरानी चौधरीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। वडा सचिव जगतबहादुर चौधरीमार्फत कमलबहादुर चौधरीका सम्पर्क व्यक्ति शिला चौधरीलाई रकम प्रदान गरिएको थियो।

त्यस्तै, कार्यक्रमका सभापति तथा वडा नम्बर ५ का वडाध्यक्ष बलवीर थारूमार्फत ठगराम चौधरीका सम्पर्क व्यक्ति फकिया थरुनीलाई पनि १९ हजार ७१५ रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो।

कार्यक्रममा सक्लिपुर प्रहरी चाैकीका इन्चार्ज करण बहादुर बाेहरा, वडा सदस्य कन्हैया चौधरी, वडा सदस्य वासमोती कुमारी चौधरी, वडा सदस्य बलराम चौधरी, वडा सचिव जगतबहादुर चौधरीलगायत स्थानीयको उपस्थिति थियो।

स्थानीयस्तरमा संकलन गरिएको सहयोगले बेपत्ता व्यक्तिको खोजीको प्रतीक्षामा रहेका परिवारलाई आर्थिक सहयोगसँगै उनीहरू एक्ला छैनन् भन्ने सामाजिक भरोसा दिएको स्थानीयले बताएका छन्। बेपत्ताको खोजी र प्रभावित परिवारलाई आवश्यक सहयोगका लागि आगामी दिनमा पनि पहल जारी राख्ने वडाध्यक्ष थारूले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।