मनोरञ्न

दुर्गौलीमा व्यापारिक सन्ध्याकालीन मेला सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दुर्गौली, २२ असोज । जानकी गाउँपालिका–९ दुर्गौलीमा व्यापारिक सन्ध्याकालीन मेला २०८३ सुरु भएको छ। दुर्गौली बजारको आयोजनामा बुधबारदेखि सुरु भएको मेलाको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले उद्घाटन गरिन्।

लोक कल्याणकारी विज्ञापन

मेलाको उद्घाटन गर्दै मन्त्री गिरीले ठूला विकास आयोजनासँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा यस्ता मेला–महोत्सवको भूमिका महत्वपूर्ण हुने बताइन्। स्थानीय उत्पादनले बजार पाउनु, व्यवसायी आत्मनिर्भर बन्नु, कलाकारले प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनु र युवाले आफ्नै ठाउँमा रोजगारी पाउनु नै वास्तविक विकास भएको उनको भनाइ थियो।

लोक कल्याणकारी विज्ञापन

‘कला, संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार’ भन्ने नारासहित आयोजना गरिएको मेला असोज ३१ गतेसम्म सञ्चालन हुनेछ। मेलामा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, विभिन्न खानाका परिकारका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी र स्थानीय कला–संस्कृतिको प्रदर्शन राखिएको आयोजकले जनाएको छ।

बिज्ञापन

मन्त्री गिरीले दुर्गौलीमा व्यापार, पर्यटन, कृषि उत्पादन तथा संस्कृतिका प्रशस्त सम्भावना रहेको बताउँदै तिनलाई व्यवस्थित रूपमा अघि बढाउन सके क्षेत्रलाई आर्थिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताइन्। स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनले पर्यटनसँगै स्थानीय आयआर्जन बढाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो।

मेलाको उद्घाटन समारोहमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसँगै सखिया, मुरुङ्वा र झुम्रा नाच तथा पञ्चेबाजाको प्रस्तुति गरिएको थियो। साँझको समयमा सांगीतिक कार्यक्रम सञ्चालन हुने भएकाले मेला अवधिभर दुर्गौली बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

यसैबीच दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले बजारमा ढल निकास र सार्वजनिक शौचालय निर्माणको माग गर्दै राज्यमन्त्री गिरीलाई ज्ञापनपत्र बुझाएका छन्। बजार विस्तारसँगै आवश्यक भौतिक पूर्वाधारको अभाव रहेकाले दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्न उनले आग्रह गरे।

मेलामा सुरक्षा तथा व्यवस्थापनका लागि स्वयंसेवक र प्रहरी परिचालन गरिएको आयोजकले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन