कांग्रेसको केन्द्रीय कार्यसमितिमा आठ थारू निर्वाचित, योगेन्द्र सहमहामन्त्री

काठमाडौं, ३० असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट एक पदाधिकारीसहित आठ जना थारू नेता केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्। पार्टी कार्यालयमा भएको अन्तिम मतगणनाअनुसार सात जना थारू कोटाबाट र एक जना प्रजातन्त्र सेनानीतर्फबाट निर्वाचित भएका हुन्।

सहमहामन्त्रीमा योगेन्द्र चौधरी निर्वाचित भएका छन्। उनले ३ हजार ४८७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ९७० र सुरेन्द्र चौधरीले १ हजार ३८२ मत पाए।

महिला थारू कोटातर्फ डा. जीवन राना र प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. प्रमिला गच्छदार निर्वाचित भएका छन्। उनीहरूले क्रमशः ४ हजार ४३१ र ४ हजार ४५ मत प्राप्त गरे। उक्त कोटामा सुनिताकुमारी राना, कल्पना चौधरी, सुशीला कुमारी चौधरी, नवोदिता चौधरी र नमिताकुमारी चौधरीसहित सात जनाले उम्मेदवारी दिएका थिए।

पुरुष थारू कोटातर्फ डा. भोगेन्द्रप्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदार र साजकुमार महतो निर्वाचित भएका छन्। उनीहरूले क्रमशः ३ हजार ६६१, ३ हजार ३०८, ३ हजार १७१ र २ हजार ६३८ मत प्राप्त गरे।
पुरुषतर्फ गोपाल पजियार थारू, छविलाल थारू, रामकृष्ण चौधरी, महेशप्रसाद चौधरी, रामसमझ चौधरी र प्रभातकुमार चौधरीसहित १० जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै, प्रजातन्त्र सेनानीतर्फ सत्यनारायण माझी थारू केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्। उनले १ हजार ४५९ मत प्राप्त गरे।
महाधिवेशनबाट निर्वाचित थारू नेताहरूले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।


