उचाइले छेकेन सपना : संघर्ष गर्दै डाक्टर बने गुजरातका गणेश

गुजरात , २३ कार्तिक । शारीरिक उचाइका कारण जीवनमा अनेक चुनौती सामना गरेका भारतको गुजरात राज्यस्थित भावनगरका २५ वर्षीय गणेश बारिया अहिले सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । शारीरिक अवस्थालाई आफ्नो सफलताको बाधक बन्न नदिएका उनले लामो संघर्षपछि डाक्टर बन्ने सपना पूरा गरेका हुन् ।

गणेशको बाल्यकाल सहज थिएन । प्राथमिक तहमा अध्ययन गरिरहँदा उनको शारीरिक उचाइ देखेर सर्कस सञ्चालन गर्ने केही व्यक्तिले उनका बुबासँग पाँच लाख भारतीय रुपैयाँमा उनलाई किन्न खोजेका थिए । तर, उनका बुबाले पैसाका लागि छोरालाई बेच्न मानेनन् । बरु शिक्षित बनाएर आत्मनिर्भर बनाउने बाटो रोजे । यही घटनाले गणेशलाई पढेर सफल व्यक्ति बन्ने प्रेरणा दिएको थियो ।

विद्यालयमा अध्ययन गर्दा कतिपय साथीले उनको उचाइलाई लिएर गिज्याउने गर्थे । घरबाट करिब पाँच किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि उनलाई कठिन हुन्थ्यो । कहिलेकाहीँ बुबाले बोकेर विद्यालय पुर्याउँथे भने कहिलेकाहीँ घरमै बसेर पढ्नुपर्थ्यो । प्राथमिक तहदेखि एमबीबीएस अध्ययनसम्म उनले शारीरिक अवस्थाका कारण विभिन्न कठिनाइ सामना गरे ।

कक्षा १२ उत्तीर्ण गरेपछि एमबीबीएस अध्ययनका लागि दिएको आवेदन शारीरिक अपाङ्गताका कारण अस्वीकृत भएपछि उनको डाक्टर बन्ने यात्रामा अर्को अवरोध थपियो । शिक्षकहरूको सहयोगमा उनले न्यायका लागि अदालतको ढोका ढकढक्याए । तर, उच्च अदालतबाट आफ्नो पक्षमा फैसला नआएपछि डाक्टर बन्ने सपना अधुरै रहने हो कि भन्ने चिन्ताले उनलाई सतायो ।
अन्ततः सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशको पक्षमा फैसला सुनायो । अदालतको फैसलापछि उनी परिसरमै झन्डै साढे दुई घण्टासम्म रोएका थिए । त्यो आँसु निराशाको नभई लामो संघर्षपछि न्याय र आफ्नो सपना पूरा गर्ने बाटो खुलेको खुसीको थियो ।
अदालतको फैसलापछि एमबीबीएस अध्ययन गर्ने अवसर पाएका गणेशले चिकित्सा शिक्षा पूरा गरे । अहिले उनी आफूले अध्ययन गरेको त्यही सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा सेवा गरिरहेका छन् ।
गणेशको जीवनकथाले शारीरिक अवस्था वा परिस्थितिभन्दा दृढ इच्छाशक्ति, निरन्तर प्रयास र परिवारको साथले मानिसलाई लक्ष्यसम्म पुर्याउन सक्ने सन्देश दिएको छ । संघर्षलाई जीवनको अभिन्न अंग मान्ने उनी संघर्षबिनाको जीवनको कल्पना गर्न नसकिने बताउँछन् ।


You must be logged in to post a comment.