जयपुरमा पाँच करोडका घडी चोरी, अनुसन्धान नेपालसम्म

जयपुर, १३ कात्तिक । भारतको जयपुरस्थित चर्चित राडो घडीको शोरुमबाट करिब पाँच करोड रुपैयाँ मूल्यका १५१ वटा महँगा घडी चोरी भएको घटनाको अनुसन्धान नेपालसम्म जोडिएको छ । चोरीका घडी नेपालमा कालोबजारमार्फत बिक्री गर्ने योजना रहेको हुन सक्ने आशंकामा राजस्थान प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार गिरोहले शोरुमबाट ३६ मिनेटभित्र घडी चोरी गरेको थियो । घटनामा संलग्न केही व्यक्ति शोरुमभित्र प्रवेश गरी घडी संकलन गरिरहेका बेला अन्य सदस्यले बाहिर बसेर प्रहरीका सवारीसाधन र स्थानीयको गतिविधिमाथि निगरानी राखेका थिए ।

चोरीपछि आरोपीहरू बस र रेलमार्फत जयपुरबाट फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शोरुम तथा आसपासका क्षेत्रका सीसीटीभी फुटेजमा एक आरोपी घाइते अवस्थामा लङ्गडाउँदै हिँडेको र उनका दुई साथीले सहारा दिएर लगिरहेको दृश्यसमेत देखिएको छ ।

प्रहरीले घटनामा संलग्न गिरोहका छ जना मुख्य आरोपीको पहिचान गरिसकेको जनाएको छ । चोरी भएका घडी कहाँ छन् र ती नेपालसम्म पुर्याउने योजना थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
घटनाको अनुसन्धानलाई तीव्र बनाउन जयपुर प्रहरीले १२० जनाको विशेष टोली परिचालन गरेको छ । नेपालमा घडी बिक्री गर्ने सम्भावनासमेतलाई ध्यानमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।


