आधुनिक प्रविधिसँगै हराउँदै थारू समुदायको खेन्हुवा र खह्री परम्परा

टीकापुर, १३ कात्तिक । थारू समुदायमा धान भण्डारणसँग जोडिएको परम्परागत खेन्हुवा र खह्री बनाउने चलन विस्तारै हराउँदै गएको छ । धान काट्ने, सुकाउने र थन्क्याउने आधुनिक प्रविधिको प्रयोग बढेसँगै पुस्तौँदेखि चल्दै आएको यो परम्परा लोप हुने अवस्थामा पुगेको हो ।

विगतमा थारू समुदायका किसानले धान थन्क्याउन खेत वा घरनजिकै निश्चित ठाउँमा आँगनजस्तो संरचना बनाउँथे । त्यस्तो संरचनालाई खेन्हुवा भनिन्थ्यो । खेन्हुवामा घरको आकारमा धान राख्ने र सुरक्षित रूपमा भण्डारण गर्ने परम्परालाई खह्री बनाउने भनिन्थ्यो ।

खेन्हुवामा धानलाई व्यवस्थित रूपमा राख्न विशेष तरिका अपनाइन्थ्यो । यसरी धान थन्क्याउने चलन केवल कृषि उपज भण्डारण गर्ने विधि मात्र नभई थारू समुदायको परम्परागत ज्ञान, सीप र जीवनशैलीसँग पनि जोडिएको थियो ।

तर पछिल्लो समय धान काट्ने र थन्क्याउने आधुनिक उपकरण तथा प्रविधिको प्रयोग बढेपछि खेन्हुवा र खह्री बनाउने चलन घट्दै गएको छ । नयाँ पुस्ताले पनि यस परम्परागत विधिप्रति कम चासो देखाउन थालेपछि थारू समुदायको मौलिक कृषि संस्कृति हराउने चिन्ता बढेको छ ।
स्थानीय कृषि जीवनसँग जोडिएको यस्तो परम्पराको अभिलेखीकरण र संरक्षण गर्न सके भावी पुस्तालाई समुदायको मौलिक ज्ञान र सांस्कृतिक पहिचान हस्तान्तरण गर्न सकिने देखिन्छ ।


