थारू समुदायको दशै कात्तिक १ मा ढिक्री पूजा गरेर मनाइने

२८ असोज, घोराही । थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक १ गते ढिक्री पूजा गर्ने भएका छन्। दशैँ मनाउने तिथि र परम्परागत विधिबारे देखिएको अन्योल हटाउँदै एकरूपता कायम गर्न शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको छलफलले पर्व मनाउने मिति र विधि तय गरेको हो।

थारू अगुवा, मटाँवा, पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा, घरगुर्वा, अध्येता, पत्रकार तथा थारू कल्याणकारिणी सभाका प्रतिनिधिहरूको सहभागितामा भएको छलफलले समुदायको परम्पराअनुसार दशैँ मनाउने तिथि र विधि निर्धारण गरेको हो।

थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार असोज २५ गते जमरा राख्ने, असोज ३१ गते पैनस्टोपी, ढक्या र गोन्द्री धुने तथा कात्तिक १ गते ढिक्री पूजा गर्ने निर्णय भएको छ।

त्यसैगरी, कात्तिक २ गते पित्तर दिने, भुइँहारथानमा बर्कीमार लगाउने, जमरा र बेबरी लगाउने तथा मटाँवाको घरमा गाउँल्या टीका लगाउने निर्णय गरिएको चौधरीले जानकारी दिए।
मटाँवा बरघर भलमन्सा सङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको छलफलमा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीको विशेष उपस्थिति थियो।
छलफलले तय गरेको तिथि र विधिअनुसार दशैँ मनाउन थारू कल्याणकारिणी सभा, मटाँवा, बरघर, भलमन्सा सङ्घलगायत थारू सङ्घसंस्थाले समुदायलाई आग्रह गरेका छन्। सहभागीहरूले थारू समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक विधिको संरक्षण गर्दै पुर्खादेखि चलिआएको चलनअनुसार दशैँ मनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा थारू कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरी, केन्द्रीय सदस्य रामबहादुर दहित, मटाँवा सङ्घका बुझौना चौधरी, थारू संस्कृतिविद् बेझलाल चौधरी, थारू अध्येता डा. जर्मन चौधरी, लोकजन चौधरी र आशाराम चौधरीलगायतले धारणा राखेका थिए।


