टीकापुर कृषि हाटबजारमा सुनको सिक्री चोर्ने प्रयास, युवक पक्राउ

टीकापुर, ११ कात्तिक । कैलालीको टीकापुर कृषि हाटबजारमा एक महिलाको गलामा लगाएको सुनको सिक्री चोरी गर्ने प्रयास गरेको आरोपमा मंगलबार एक युवक पक्राउ परेका छन् । स्थानीयले ती युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

टीकापुर बसपार्कनजिक बस्ने उदयसिंह धामीकी श्रीमती संगीता धामीले गलामा लगाएको करिब दुई तोलाको सुनको सिक्री चोरी गर्ने क्रममा उनले युवकको हात समातेकी थिइन् । त्यसक्रममा युवकले सिक्री भुइँमा फालेको बताइएको छ ।

महिलाले हारगुहार गरेपछि स्थानीयले ती युवकलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टीकापुरमा पछिल्लो समय चोरीका घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ । बजार क्षेत्र तथा बस्तीमा दिनदहाडै र रातिको समयमा चोरीका घटना हुने गरेको भन्दै स्थानीयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन् ।
हाटबजारमै सुनको सिक्री चोरी गर्ने प्रयास भएको घटनापछि स्थानीयले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी बढाउन र चोरीका घटना नियन्त्रण गर्न प्रहरीलाई आग्रह गरेका छन् । प्रहरीले भने पक्राउ परेका युवकको संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।


