भारतीय सीमावर्ती बजार बनगाउँमा भीषण आगलागी, करोडौंको क्ष्यति

धनगढी, २४ कार्तिक । भारतसँग सीमा जोडिएको बनगाउँ बजारमा सोमबार राति भीषण आगलागी हुँदा ४० देखि ५० वटा पसलमा क्षति पुगेको छ । आगलागीबाट ३० देखि ४० करोड भारतीय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । धनगढी उपमहानगरपालिकाबाट तत्काल दमकल परिचालन गरी आगो नियन्त्रणमा सहयोग गरिएपछि बजारको ठूलो हिस्सा जोगिएको छ ।
स्थानीय व्यवसायी तथा प्रत्यक्षदर्शीका अनुसार एउटा पसलमा बालेको दियो वा मैनबत्तीबाट आगलागी सुरु भएको थियो । एक पसलबाट सल्किएको आगोले केहीबेरमै उग्र रूप लिँदै आसपासका पसलमा फैलिएको थियो । पसलमा राखिएका ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि आगो थप फैलिएको स्थानीयले बताएका छन् ।

तिहारको समयमा व्यवसायीहरूले पसलमा पर्याप्त मात्रामा सामान भण्डारण गरेका थिए । त्यसैले आगलागीबाट ठूलो परिमाणमा धनमाल क्षति भएको पीडित व्यवसायीहरूको भनाइ छ । आगो तीव्र गतिमा फैलिँदा स्थानीयले नियन्त्रणको प्रयास गरे पनि सम्भव नभएपछि प्रशासन र दमकलको सहयोग मागेका थिए ।
घटनाको जानकारी पाएलगत्तै धनगढी उपमहानगरपालिकाले दमकल तथा सुरक्षाकर्मी परिचालन गरेको थियो । नेपालबाट पुगेका दमकल र सुरक्षाकर्मीले राति अबेरसम्म आगो निभाउने प्रयास गरेका थिए । दमकलले निरन्तर पानी प्रयोग गरी आगो थप फैलिन नदिएपछि बजारको करिब ६० प्रतिशत भाग सुरक्षित रहेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।
आगलागीबाट ठूलो क्षति हुनबाट जोगाउन नेपालतर्फबाट भएको सहयोगप्रति स्थानीय व्यवसायीहरूले आभार व्यक्त गरेका छन् । एक व्यवसायीले खबर पाउनासाथ धनगढीबाट दमकल पठाएर रातभर आगो नियन्त्रणमा सहयोग गरेको भन्दै धनगढी उपमहानगरपालिका, नगरप्रमुख, दमकल चालक, सुरक्षाकर्मी तथा सम्पूर्ण सहयोगी टोलीलाई धन्यवाद दिए ।
‘हामी नेपालका स्थानीय प्रशासन, दमकल चालक, नगरप्रमुख तथा सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । खबर पाउनासाथ नेपालबाट तत्काल दमकल पठाएर रातभर खटिई आगो नियन्त्रणमा ठूलो सहयोग गरियो,’ उनले भने ।
नेपाली दमकल र सुरक्षाकर्मी समयमै घटनास्थल पुगेर सक्रियतापूर्वक काम नगरेको भए आगोले सिंगो बजारलाई नै चपेटामा पार्न सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ । सीमापारिको विपद्मा नेपालतर्फबाट तत्काल उपलब्ध गराइएको सहयोगले ठूलो क्षति रोक्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै व्यवसायीहरूले नेपाली प्रशासनको प्रशंसा गरेका छन् ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण भने संकलन हुन बाँकी छ ।

