आस्था /आध्यात्म

‘हामी नेपाली हौं, तिहार सबैको साझा पर्व हो’ : रेशमलाल चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

थारू समुदायको देउसी–भैलो परम्परागत पर्व नभए पनि तिहारलाई सबै नेपालीको साझा सांस्कृतिक उत्सव बनाउनुपर्नेमा जोड

टीकापुर, २५ कार्तिक । नागरिक उन्मुक्ति नेपालका संरक्षक रेशमलाल चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत तिहारलाई सबै नेपालीको साझा पर्वका रूपमा स्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । थारू समुदायको ऐतिहासिक पर्वभित्र देउसी–भैलो नपर्ने भए पनि आफूहरू सबैका घरदैलोमा पुगेर देउसी–भैलो खेल्ने र आशिष दिने गरेको उल्लेख गर्दै उनले सांस्कृतिक एकता र साझा पहिचानको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

तिहार तथा छठ पर्वको शुभकामना सन्देश सार्वजनिक गर्दै चौधरीले आफूहरू नेपाली भएकाले तिहारलाई साझा राष्ट्रिय पर्वका रूपमा स्वीकार गर्नुपर्ने बताएका हुन् । विश्वमा नेपालीले दीपावली मनाउने परम्परा र शैली विशिष्ट रहेको उल्लेख गर्दै उनले तिहारलाई नेपालको सांस्कृतिक पहिचानसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD

‘हाम्रो स्पष्ट दृष्टिकोण यही हो– पहिचान सबैको साझा हुनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले धर्म, संस्कृति र भौगोलिक पहिचानलाई एकअर्काको विरोधी नभई संरक्षण गर्नुपर्ने साझा सम्पत्तिका रूपमा लिनुपर्ने बताएका छन् । बाह्य प्रभाव र स्वार्थ समूहले नेपाली संस्कार तथा संस्कृतिमा हस्तक्षेप गरेर सामाजिक एकता कमजोर बनाउन खोजेको उनको आरोप छ । यस्ता गतिविधिप्रति सचेत रहँदै सबै समुदाय एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

चौधरीले धार्मिक तथा सांस्कृतिक पहिचानसँगै आफ्नो भौगोलिक पहिचान र मौलिकता पनि जोगाउनुपर्ने बताएका छन् । पहिचानको नामसमेत लिन हिचकिचाउनेहरूबाट आफ्नो गाउँ र ठाउँको संरक्षण हुने अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।

‘नेपाल अरूले होइन, हामीले बनाउनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले जातीय, धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान र सहअस्तित्व कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् । तिहार र छठ पर्वले सबै समुदायबीच सद्भाव, आत्मीयता र एकताको भावना थप प्रगाढ बनाओस् भन्दै उनले सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

बिज्ञापन