आस्था /आध्यात्म

राईसिंह जीको श्रद्धाञ्जलीमा केन्द्रीय अध्यक्ष रावलजीले भने– उहाँको कर्म पछ्याउनु नै सच्चा श्रद्धाञ्जली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमरावती, १४ असोज । जस्तोसुकै परिस्थिति आए पनि सतगुरुप्रतिको समर्पण र आफ्नो आध्यात्मिक मार्गबाट विचलित नहुनु नै परमयोगी महात्मा राईसिंह जीको जीवनको मुख्य सन्देश रहेको सन्त निरंकारी मण्डल नेपालका केन्द्रीयअध्यक्ष रावलजीले बताएका छन्। राईसिंह जीको जीवनको चर्चा गरेर मात्र नभई उहाँले देखाएको सेवा, समर्पण र कर्मको बाटो पछ्याएर सच्चा श्रद्धाञ्जली दिनुपर्ने उनले बताए।

लोक कल्याणकारी विज्ञापन

राईसिंह जीको श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै रावलजीले द्वन्द्वकाललगायत विभिन्न विषम परिस्थितिमा समेत राईसिंह जीले आफ्नो मनस्थिति स्थिर राख्दै परमात्मा र सतगुरुप्रति आफूलाई समर्पित गरेको स्मरण गरे। ‘जस्तो परिस्थिति आए पनि मनस्थिति परिवर्तन गर्नु हुँदैन भन्ने शिक्षा उहाँको जीवनबाट लिन सकिन्छ,’ उनले भने।

लोक कल्याणकारी विज्ञापन

मानिसले जीवनभर धन, सम्पत्ति, पुत्र–परिवार र भौतिक सुखका लागि प्रयास गरे पनि अन्ततः साथमा जाने भनेको कर्म मात्र भएको रावलजीले बताए। यही सन्दर्भमा उनले बाबा अवतार सिंह जी महाराजको वाणी उद्धृत गर्दै भने, परिवार, इष्टमित्र र आफन्तहरू जीवनमा महत्वपूर्ण भए पनि शरीर त्यागेपछि मानिससँग उसको कर्मको फल मात्र जाने आध्यात्मिक सन्देश उक्त वाणीमा रहेको उनले बताए।

लोक कल्याणकारी विज्ञापन

राईसिंह जीले यही भावलाई आफ्नो जीवनमा व्यवहारमा उतारेको रावलजीले बताए। गृहस्थ जीवनमा रहेर आफ्ना पाँच छोरा, बुहारी, नातिनातिनासहित परिवारका सदस्यलाई ब्रह्मज्ञानको मार्गमा अघि बढाउनुका साथै आफू जहाँ–जहाँ बसे, त्यहाँका मानिसलाई समेत ब्रह्मज्ञानसँग जोड्ने काम गरेको उनले बताए।

राईसिंह जीको जीवनलाई नजिकबाट हेर्दा कठिन परिस्थिति आए पनि सतगुरुप्रतिको विश्वास र समर्पणमा कुनै कमी नआएको रावलजीको भनाइ थियो। ‘उहाँको विषयमा धेरै चर्चा गर्नुभन्दा उहाँले गर्नुभएको कर्मलाई हामीले आत्मसात् गर्न आवश्यक छ,’ उनले भने, ‘उहाँले जुन बाटो देखाउनुभयो, त्यसमा हिँड्न सक्नु नै उहाँप्रतिको सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ।’

सम्बोधनका क्रममा रावलजीले सन्त निरंकारी मिशनमा सतगुरुको परम्परा समर्पण र कृपाका आधारमा अघि बढ्दै आएको उल्लेख गरे। वर्तमान सतगुरु माता सुदीक्षा जी महाराजले मानव कल्याण, प्रेम, सद्भाव र आत्मजागृतिको सन्देश दिइरहेको उनले बताए।

‘पहिला आफू सुध्रिने र त्यसपछि अरूलाई सुधार्ने, निरन्तर आत्ममन्थन गर्ने र निन्दा, घृणा, छल तथा कपटबाट माथि उठ्ने’ सन्देशलाई जीवनमा उतार्नुपर्ने रावलजीको भनाइ थियो। आत्मा, मन, वचन र कर्मबाट जागृत हुँदै परमात्मालाई हृदयमा धारण गर्न उनले आग्रह गरे।

पाँच तत्त्वबाट बनेको शरीर नाशवान् भए पनि मानिसले पाएको अमूल्य समयलाई सदुपयोग गर्नुपर्ने रावलजीले बताए। ‘हामीले पाएको समय व्यर्थ नजाओस्, सिमरण, सेवा र सत्संगमा जीवन लगाउन सकौँ,’ उनले भने।

राईसिंह जीले आफ्नो गृहस्थ जीवनलाई समेत सतगुरुप्रति समर्पित गर्दै परिवार र समाजमा ब्रह्मज्ञानको चेतना फैलाएको उल्लेख गर्दै रावलजीले उहाँका परिवारजनप्रति सतगुरुको कृपा रहोस् भन्ने प्रार्थना गरे।

रावलजीले आगामी सन्त समागमको तयारीबारे पनि जानकारी दिँदै नेपालबाट सहभागी हुने सन्त–महात्मा तथा सेवादलको व्यवस्थापनका लागि अग्रिम तयारी भइरहेको बताए। समागममा तन, मन र धनले सेवा गर्न सबैलाई आग्रह गर्दै उनले सेवा आध्यात्मिक जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गरे।

‘तनले सेवा गर्दा तन सुखी, मनले सेवा गर्दा मन सुखी र धनले सेवा गर्दा धन सुखी हुने’ भावनाका साथ सेवामा जुट्न उनले आग्रह गरे।

सम्बोधनको अन्त्यमा रावलजीले परमसत्कार योगी महात्मा राईसिंह जीप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँका परिवारजनलाई सतगुरुको कृपा, शक्ति र धैर्य प्राप्त होस् भन्ने प्रार्थना गरे।

श्रद्धाञ्जली कार्यक्रममा विभिन्न स्थानबाट सहभागी सन्त–महात्माले भजन तथा प्रवचनमार्फत पनि राईसिंह जीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा पार्वती बहिनीजी, मनबहादुरजी, नृप जी, भक्तबहादुरजी, देवी सिंहजी , करण सिंहजी, शेरबहादुरजी, सावित्राजी (बनमडा), इन्द्र सिंहजी (टीकापुर), ललितजी, तेज बहादुर बोहराजी (न्यूज रिपोर्टर, टीकापुर), ज्योति सिंहजी, दीपकजी (अत्तरीया सत्संग भवन मुखी), जनक साउद (बानियाँ), प्रकाश साउद (धनगढी सत्संग भवन मुखी), सन्त निरंकारी मण्डल नेपालका कन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालजी, क्षेत्रीय सेवादल संचालक नर बहादुर बटाला जी, काशीरामजी, अमृताजी, धनञ्जय, नृप, लक्ष्मी, कृष्ण, करिश्मा र सुमनले पनि भजन तथा प्रवचनमार्फत राईसिंह जीप्रति श्रद्धा अर्पण गरेका थिए भने कार्यक्रमको संचालन सेवादल संचालक जगत सिंहजीले गर्नुभएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD