घटना

मुम्बईको कल्याण रेलवे स्टेसनमा अलपत्र भेटिए अछामका प्रेमबहादुर, आफन्तको खोजीमा अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, १७ नवम्बर । भारतको महाराष्ट्रस्थित कल्याण रेलवे स्टेसनमा अछामका २७ वर्षीय प्रेमबहादुर विश्वकर्मा अलपत्र अवस्थामा फेला परेका छन् । नेपालमा श्रीमतीको निधन भएपछि घर फर्किने क्रममा लुटपाट र कुटपिटमा परेपछि उनी अलपत्र परेको बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन

अछामको पालाकाटे घर भएका प्रेमबहादुर बुवा मन कामी र आमा देउकरी कामीका छोरा हुन् । उनी रोजगारीका सिलसिलामा भारतको पुणेस्थित हिन्जेवडीमा बस्दै आएका थिए । प्राप्त जानकारीअनुसार, पुणेको हिन्जेवडीबाट नेपाल फर्किने क्रममा कल्याण रेलवे स्टेसन आइपुगेका उनलाई अज्ञात व्यक्तिहरूले कुटपिट गरी लुटपाट गरेका थिए ।

लुटपाटका क्रममा उनीसँग रहेको मोबाइल र नगद रकमसमेत खोसिएको बताइएको छ । त्यसपछि परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका उनी कल्याण रेलवे स्टेसनमा अलपत्र अवस्थामा भेटिएका हुन् ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रेमबहादुरका घरमा १३ वर्षीया छोरी र ११ वर्षीय छोरा छन् । श्रीमतीको निधनपछि दुई सन्तानको अभिभावकत्व सम्हाल्दै आएका उनी घर फर्किने क्रममा समस्यामा परेको जनाइएको छ ।

उनका आफन्तका रूपमा पुणेको हिन्जेवडीमा बस्दै आएका ससुरा रती परियार र साली दुर्गा परियारको नाम उल्लेख गरिएको छ । हाल प्रेमबहादुरलाई परिवार तथा आफन्तसँग सम्पर्क गराउने प्रयास भइरहेको छ ।

उनीबारे जानकारी राख्ने, चिन्ने वा उनका आफन्तसम्म सूचना पुर्‍याउन सक्ने व्यक्तिलाई सहयोग गरिदिन आग्रह गरिएको छ । साथै, उनको तस्बिर तथा भिडियोसहित सार्वजनिक गरिएको सूचना सामाजिक सञ्जालमार्फत बढीभन्दा बढी शेयर गरी परिवारसम्म पुर्‍याउन अपिल गरिएको छ ।

प्रेमबहादुरका आफन्त वा परिवारबारे जानकारी हुने व्यक्तिले निरज परियारलाई ८१०८८२८१२१ वा घनश्याम स्वारलाई ९५११८६४६७८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

परिवारसँग सम्पर्कविहीन अवस्थामा रहेका प्रेमबहादुरलाई आफन्तसँग पुनर्मिलन गराउन सार्वजनिक गरिएको सूचनाको पहुँच बढाइदिन सबैमा अनुरोध गरिएको छ ।

बिज्ञापन