महाराष्ट्रको दिवा स्टेसनमा नेपाली महिला अलपत्र, परिवारको खोजी

मुम्बई, १८ अक्टोबर। महाराष्ट्रको दिवा रेल्वे स्टेसनमा दैलेखकी एक नेपाली महिला अलपत्र परेकी छन्। ठाटीकाँध गाउँपालिका–६ की कल्पना नेपाली रेलयात्राका क्रममा श्रीमान्बाट छुटेपछि परिवारको सम्पर्कबाहिर पुगेकी हुन्।

प्राप्त जानकारीअनुसार, मुम्बई आउने क्रममा रेलबाट ओर्लिने बेला उनका श्रीमान् रेलमै छुटेका थिए भने कल्पना दिवा रेल्वे स्टेसनमा ओर्लिएकी थिइन्। दुवै जना फरक–फरक ठाउँमा पुगेपछि उनीहरूबीच सम्पर्क विच्छेद भएको हो।

हाल कल्पना दिवा रेल्वे स्टेसनस्थित रेल्वे प्रहरीको सम्पर्कमा रहेको बताइएको छ। उनको परिवार तथा आफन्तजनको पहिचान गरी सम्पर्क गराउने प्रयास भइरहेको छ।

कल्पनाका परिवार, आफन्तजन वा उनलाई चिन्नुहुने व्यक्तिहरूलाई सम्पर्कमा आउन समाजसेवीहरूले आग्रह गरेका छन्। साथै, उनको परिवारसम्म सूचना पुर्याउन सहयोग गरिदिन नेपाली समुदाय तथा सर्वसाधारणलाई अपिल गरिएको छ।
कल्पनाबारे जानकारी भएका व्यक्तिहरूले समाजसेवी नारायण जनाला (९७६९७०६९९९) वा ओम सुनार (९८३३१५२२३५) लाई सम्पर्क गर्न सक्नेछन्।


