अवर्गीकृत

आज विहानाका मुख्य समाचारहरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महाअष्टमीमा शक्तिपीठमा घुइँचो, दसैँ मनाउन गाउँ फर्किने बढे

काठमाडौं, १ कात्तिक । बडादसैँको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदै छ । महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

लोक कल्याणकारी विज्ञापन

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको राति कालरात्रिको विधिअनुसार पूजा गर्ने परम्परा छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा श्रद्धालु पुगेका छन् । उपत्यकाबाहिरका मनकामना, छिन्नमस्ता, राजदेवी, उग्रतारा र पाथीभरालगायत मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

लोक कल्याणकारी विज्ञापन

महाअष्टमीका दिन कलपुर्जा, हातहतियार र यातायातका साधन सफा गरी पूजा गर्ने चलन छ । कतिपयले काँक्रो, घिरौंला, कुभिन्डो, मुला र नरिवल चढाएर देवीको आराधना गर्छन् ।

बिज्ञापन

गाउँ फर्किनेको चाप

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ । हिजोसम्म साढे चार लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएको जनाइएको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु र माछापोखरीलगायत क्षेत्रमा यात्रुको चाप बढेको छ । ट्राफिक प्रहरीले यात्रुको आवागमन सहज बनाउन व्यवस्थापन गरिरहेको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले यात्राका क्रममा सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरेका छन् ।

सिन्धुलीमा जीप दुर्घटना, तीन महिलाको मृत्यु

यसैबीच, काठमाडौं उपत्यकाबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ । को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा चालक आशिष विष्टसहित चार जना घाइते भएका छन् । घाइते चालक विष्ट, खोटाङकी सम्झना राई, उनकी छोरी शिवानी राई र १३ वर्षीय अंकित विकको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका अन्य तीन जनाको अवस्था खुल्न नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दसैँमा मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विजयादशमीसम्म अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । मौसम अनुकूल रहने भएकाले किसानलाई धान काट्ने र भित्र्याउने काम गर्न सहज हुने मौसमविद्हरूले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन