हैदराबादमा हत्या र लुटपाट : पाँच महिनापछि चार नेपाली पक्राउ

हैदराबादमा पूर्वआईपीएस अधिकारीकी श्रीमतीको हत्या प्रकरण : पाँच महिनापछि चार नेपाली पक्राउ
हैदराबाद, २६ कार्तिक । भारतको हैदराबादमा सेवानिवृत्त भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारीकी श्रीमतीको हत्या गरी लुटपाट गरेको घटनामा संलग्न रहेको आरोपमा चार नेपाली नागरिक पक्राउ परेका छन् । हत्या भएको पाँच महिनाभन्दा बढी समयपछि प्रहरीले घटनाका मुख्य योजनाकार भनिएकी घरेलु कामदारसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २६ वर्षीया धर्मा तिर्वा उर्फ कल्पना, ३१ वर्षीय गणेश बिक उर्फ गणेश विश्वकर्मा उर्फ दिनेश थापा, ४४ वर्षीय चन्द्रबहादुर तामाङ उर्फ रञ्जित थापा तथा ३७ वर्षीय गणेशबहादुर शाही रहेका छन् ।

हैदराबादका प्रहरी आयुक्त वीसी सज्जनारले सोमबार पत्रकार सम्मेलन गरी पक्राउबारे जानकारी दिएका हुन् । विशेष अनुसन्धान टोली (एसआईटी) ले नामपल्ली रेलवे स्टेसननजिकैबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत मे ७ र ८ तारिखको मध्यरातमा हैदराबादको गोप्रशासन नगरस्थित सेवानिवृत्त आईपीएस अधिकारी रेभिने रञ्जनकी श्रीमती तनुजा रञ्जनको घरमै हत्या भएको थियो । घरमा घरेलु सहयोगीका रूपमा कार्यरत धर्माले गिरोहका अन्य सदस्यलाई घरभित्र प्रवेश गर्न सहयोग गरेको प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार आरोपीहरूले तनुजालाई नियन्त्रणमा लिएर मुख थुनेपछि निसासिएर उनको मृत्यु भएको थियो । त्यसपछि घरबाट करिब २२५ ग्राम सुनका गहना तथा अन्य बहुमूल्य सामान लुटेर उनीहरू फरार भएका थिए ।
अनुसन्धानमा धर्मा सुर्खेतकी रहेको र उनी सन् २०२५ जुनदेखि जुब्ली हिल्सस्थित पीडितको घरमा मासिक २० हजार भारतीय रुपैयाँ तलबमा काम गर्दै आएको खुलेको छ । सोही क्रममा उनको सम्पर्क पुणेमा बस्ने विकास नामका नेपाली नागरिकसँग भएको थियो । विकासले घरमा रहेको धनसम्पत्तिबारे जानकारी लिने र लुटपाटको योजना बनाएको प्रहरीको दाबी छ ।
प्रहरीको अनुसन्धानअनुसार सन् २०२६ अप्रिलमा बिरामी बुबालाई भेट्न पुणे पुगेकी धर्मा गिरोहका अन्य सदस्यसँग सम्पर्कमा पुगेकी थिइन् । मे ४ मा घरधनी बेंगलुरु गएपछि उनले गिरोहका सदस्यलाई घरमा कोही नभएको जानकारी गराएको प्रहरीको भनाइ छ ।
घटनाको योजनाअनुसार आरोपीहरू महाराष्ट्रको रायगड जिल्लास्थित कलम्बोलीमा भेट भएर भाडाको गाडीमा पुणे हुँदै हैदराबाद पुगेका थिए । मे ७ को साँझ उनीहरू दुई समूहमा विभाजित भएका थिए । एउटा समूह घरभित्र प्रवेश गरी लुटपाट गर्ने र अर्को समूह नामपल्ली रेलवे स्टेसननजिकै बसेर निगरानी गर्ने जिम्मेवारीमा खटिएको प्रहरीले जनाएको छ ।
लुटपाटपछि गिरोहका सदस्यहरू काजिपेट पुगेका थिए । त्यहाँ सुनसान पहाडी क्षेत्रमा लुटिएको सम्पत्ति नौ भागमा बाँडिएको र त्यसपछि विभिन्न समूहमा विभाजित भएर नेपालतर्फ फरार भएको प्रहरीको दाबी छ ।
यसअघि मे २२ मा प्रहरीले सुनिलबहादुर आउजी उर्फ सुनिल परियार र लुटिएको सामान प्राप्त गर्ने व्यक्ति भनिएका दिलीपबहादुर मिजार उर्फ सोनारलाई पक्राउ गरेको थियो । उनीहरूबाट २६ ग्राम सुनसहित अन्य सामग्री बरामद गरिएको थियो ।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा बेंगलुरु, मुम्बई, पुणे, सुरत, पटना, दिल्ली, लखनउ र उत्तराखण्डसम्म खोजी अभियान सञ्चालन गरिएको थियो । भारत–नेपाल सीमासम्म अनुसन्धान विस्तार गर्दै पाँच महिनाभन्दा बढी समय लगाएर आरोपीहरूको सम्पर्क सञ्जाल र आवतजावतबारे सूचना सङ्कलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी आयुक्त सज्जनारले घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको र उनीहरूको खोजी जारी रहेको बताए । उनले यसअघि पक्राउ परेका दुई जनासहित घटनाको अनुसन्धानमा संलग्न प्रहरी टोलीले थप आपराधिक घटनामा संलग्न व्यक्तिहरूमाथि समेत अनुसन्धान अघि बढाएको जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ ।

