देउवादम्पती, ओली, प्रचण्ड र खड्काउपर सम्पत्ति शुद्धीकरण छानबिन अघि बढाइयो, विभागले पठायो पत्र

सरकारले तीन पूर्वप्रधानमन्त्रीहरूउपर सम्पत्ति शुद्धीकरणको छानबिन प्रक्रिया अघि बढाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’उपर छानबिनको प्रक्रिया थालेको हो। पूर्वमन्त्रीहरू देउवापत्नी आरजु राणा र दीपक खड्काउपर सँगै छानबिन प्रक्रिया अघि बढाएको छ।

स्रोतका अनुसार पाँचैजनालाई सम्पत्ति शुद्धीकरण छानबिनका क्रममा विभागमा उपस्थित हुन पत्र काटिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी केही बुझ्नुपर्ने भएको भन्दै विभागले उनीहरूलाई पत्र काटेको हो। यसै क्रममा प्रहरीको सहयोगमा खड्कालाई आज बिहानै पक्राउ गरिएको छ। उनलाई म्याद थपका लागि अदालत लगिएको छ।
जेन-जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ गरिएका ओली अहिले प्रहरी हिरासतमै छन्। देउवादम्पती भने देशबाहिर छन्। विभागले ओली, प्रचण्ड र देउवादम्पतीको ठेगानामा प्रहरीमार्फत पत्र पठाएको हो।
जेन-जी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठ निवासमा ठुलो मात्रामा पैसाका नोट जलेका र फेला परेका थिए। ओली, प्रचण्ड र खड्काको घरमा पनि यस्तो पैसा भएको आरोप लगाइएको छ। त्यसउपर विभागले यसअघि निरीक्षण नै गरेर फरेन्सिक परीक्षणसमेत गरेको थियो। तर, कारबाही भने अघि बढेन। नयाँ सरकार आएसँगै छानबिनको प्रक्रिया अघि बढाइएको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
