स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी सत्संग भवन टीकापुरका सेवादल तथा सन्त–भक्तहरुद्वारा टीकापुर अस्पतालको सरसफाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २८ चैत्र । सन्त निरंकारी सत्संग भवन टीकापुरका सेवादल तथा सन्त–भक्तहरुद्वारा टीकापुर अस्पतालको सरसफाइ गरिएको छ ।

अस्पताल सरसफाइ स्वास्थ्य सेवाको आधारभूत र अत्यन्त महत्वपूर्ण पक्ष हो । अस्पताल यस्तो स्थान हो, जहाँ विभिन्न रोगका बिरामीहरु उपचारका लागि आउने गर्छन् । यदि अस्पतालमा उचित सरसफाई नभएमा संक्रमण सजिलै फैलिन सक्छ, जसले बिरामीको अवस्था अझ जटिल बनाउनुका साथै स्वास्थ्यकर्मी र अन्य आगन्तुकहरुलाई पनि जोखिममा पार्छ । त्यसैले अस्पतालमा उच्चस्तरीय सरसफाई कायम राख्नु अत्यावश्यक हुन्छ ।

बिज्ञापन

यसै उद्देश्यलाई आत्मसात गर्दै सेवादल युनिट २५४ का जवान तथा सन्त–भक्तहरुको संयुक्त प्रयासमा टीकापुर अस्पतालको प्राङ्गण तथा वरिपरिको क्षेत्रमा फैलिएको फोहोर संकलन गरी फोहोर व्यवस्थापन गरिएको थियो । लामो समयदेखि अस्पताल परिसरमा थुप्रिएका ढुंगा, गिटी र बालुवालाई पनि व्यवस्थित रुपमा हटाइएको थियो । सेवादलका जवानहरुले अस्पतालको छतदेखि कुना–कुनामा रहेको फोहोर संकलन गरी उचित स्थानमा डम्पिङ गरेका थिए ।

बिहान करिब ७ः०० बजे नै अस्पताल परिसर पुगेका सेवादलका जवानहरु अस्पताल परिसर सरसफाई गर्न निकै उत्साहित देखिन्थे । एक जना सेवादल जवानले भने, ‘म अस्पतालको सरसफाई सेवाका लागि बिहानै लम्कीबाट निस्किएको हुँ ।’ अर्की महिला सेवादलले भनिन्, ‘आज सेवा गर्न जानुपर्ने भएकाले बिहानै घरका छोराछोरीहरुका लागि खाना पकाएर र गाईवस्तुको हेरचाहको व्यवस्था मिलाएर आएकी हुँ ।’

स्मरण रहोस्, सन्त निरंकारी मिशनले मानव एकता दिवसको अवसरमा अंग्रेजी महिना अपे्रलभरि विभिन्न सरसफाई तथा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज सन्त निरंकारी मिशन विश्वमै रक्तदान गर्ने संस्थामध्ये अग्रणी स्थानमा रहेको छ ।

टीकापुर अस्पतालको सरसफाई गर्ने क्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले टीकापुर अस्पतालका नव–निर्वाचित अध्यक्ष राम बहादुर भण्डारीलाई सफल कार्यकालको शुभकामना दिँदै खादा लगाएर स्वागत गर्नुभएको थियो । उक्त अवसरमा सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारी, युनिट नं. २५४ का सेवादल सञ्चालक, सञ्चालिका, शिक्षक, शिक्षिका लगायत सेवादलका जवान तथा साध संगतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।