विद्यार्थीलाई सम्मान र शुभकामनासहित वेस्ट विङ्गको बिदाइ समारोह

ललितपुर, वैशाख २७ । वेस्ट विङ्ग माध्यमिक विद्यालयले आफ्नो २१औँ एसईई (कक्षा १०) ब्याच २०८२ तथा ७औँ एस.एल.सी.ई. (कक्षा १२) ब्याच २०८२ का विद्यार्थीहरूलाई शुभकामना सहित बिदाइ गर्दै “बिदाइ कार्यक्रम २०८३” भव्य रूपमा सम्पन्न गरेको छ।
बैशाख २६ गते शनिबार विद्यालय परिसरस्थित सगरमाथा हलमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष तथा अभिभावक–शिक्षक संघ (PTA) का अध्यक्ष श्री नवीन श्रेष्ठज्यूको सभापतित्व तथा महालक्ष्मी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री बिश्वराज श्रेष्ठज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वेस्ट विङ्ग सार्वजनिक शैक्षिक गुठीका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षक, कर्मचारी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको शुभारम्भ राष्ट्रिय गान तथा दीप प्रज्वलनबाट गरिएको थियो। कार्यक्रममा कक्षा १० र १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा सुमधुर गीत प्रस्तुत गरेका थिए। नृत्य प्रशिक्षक श्री भीमसेन रिजालज्यूद्वारा कोरियोग्राफी गरिएको नृत्य तथा संगीतकार एवं गीत रचनाकार श्री राजेन्द्र महर्जनज्यूको प्रशिक्षणमा प्रस्तुत गीतहरूले कार्यक्रमलाई थप आकर्षक र भावुक बनाएको थियो।

विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै सामूहिक रूपमा गायिका तारा देवी को चर्चित गीत “शुभकामना भरी” प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीले कार्यक्रममा भावुक वातावरण सिर्जना गरेको थियो।
यस अवसरमा विद्यालयले माध्यमिक शिक्षा परीक्षा २०८१ तथा आधारभूत तह परीक्षा २०८१/०८२ मा उत्कृष्ट नतिजा हासिल गराउन महत्वपूर्ण योगदान पुर्याउने शिक्षकहरूलाई विशेष सम्मान गरेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति सचिव श्री बाबुराज महर्जनज्यूले विद्यार्थी जीवनका आगामी दुई वर्ष भविष्य निर्माणका लागि अत्यन्त महत्वपूर्ण हुने बताउँदै अनुशासन, लगन र मेहनतका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गर्नुभयो। प्रमुख अतिथि श्री बिश्वराज श्रेष्ठज्यूले विद्यालयले गुणस्तरीय शिक्षामार्फत शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रमका सभापति श्री नवीन श्रेष्ठज्यूले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक तथा व्यवस्थापन पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई कक्षा ११ र १२ अध्ययनका लागि पुनः यही विद्यालय रोज्न आग्रह गर्नुभयो।

विद्यालय परिवारका अनुसार कार्यक्रम भावुक, प्रेरणादायी तथा उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.