टीकापुरमा चर्को गर्मी, दौड्दै गर्दा सात प्रहरी बेहोस

टीकापुर ८ टीकापुर । टीकापुरमा अत्यधिक गर्मीका बीच शुक्रबार बिहान भएको एक घटनाले सुरक्षा निकायभित्र मात्रै होइन, सर्वसाधारणमा पनि चिन्ता बढाएको छ । सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्रमा नियमित शारीरिक अभ्यासका क्रममा सात जना प्रहरी जवान एक्कासी बेहोस भएपछि उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको हो ।
प्राप्त जानकारीअनुसार शुक्रबार बिहान करिब ६ बजे नियमित दौड तथा शारीरिक प्रशिक्षण भइरहेका बेला प्रहरी जवानहरू अचानक लड्न थालेका थिए । सुरुआतमा सामान्य थकान वा कमजोरी ठानिए पनि अवस्था गम्भीर बन्दै गएपछि उनीहरूलाई तत्काल टीकापुर अस्पताल लगिएको थियो । चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि ‘हिट स्ट्रोक’ को सम्भावना औंल्याएका छन् ।

चर्को गर्मीका कारण शरीरको तापक्रम अस्वाभाविक रूपमा बढ्दा ‘हिट स्ट्रोक’ हुने गर्दछ। यस्तो अवस्थामा मानिस बेहोस हुने, अत्यधिक कमजोरी महसुस हुने, सास फेर्न कठिन हुने, रक्तचाप घट्ने तथा मस्तिष्कमा असर पुग्ने जोखिम रहन्छ। समयमै उपचार नभए ज्यानसमेत जान सक्ने चिकित्सकहरूको भनाइ छ ।

सातै प्रहरी जवानको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बाहिर पठाउने निर्णय गरिएको हो । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर टीकापुर पुगेको बताइएको छ । स्रोतका अनुसार बिरामीहरूलाई दुई–दुई जनाका दरले सुर्खेत लगिने र त्यहाँबाट ठूलो हेलिकोप्टरमार्फत एकैपटक काठमाडौँ स्थानान्तरण गर्ने तयारी गरिएको छ। पहिलो चरणमा दुई जना प्रहरी जवानलाई बोकेर बिहान करिब १०ः४५ बजे हेलिकोप्टर टीकापुरबाट उडेको जानकारी प्राप्त भएको छ ।
पछिल्ला केही दिनदेखि टीकापुरसहित कैलालीका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढिरहेको छ । दिउँसो तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने गरेको छ भने तातो हावा चल्ने क्रम पनि बढेको स्थानीयहरूले बताएका छन् । मौसमको यही प्रतिकूल अवस्थाले बाहिरी शारीरिक अभ्यास, दौड तथा लामो समय घाममा रहने काम गर्ने व्यक्तिहरू उच्च जोखिममा परिरहेका छन् ।
विशेषज्ञहरूले अत्यधिक गर्मीको समयमा बिहानै पनि लामो दौड वा कठोर प्रशिक्षण गर्दा शरीरले ताप नियन्त्रण गर्न नसक्ने बताएका छन् । पर्याप्त पानी नपिउनु, शरीरमा नुन तथा पानीको कमी हुनु, लामो समय घाम वा तातो वातावरणमा रहनु, तथा आराम नपुग्नु ‘हिट स्ट्रोक’ का मुख्य कारण मानिन्छन् ।
यस घटनापछि सुरक्षा निकायभित्र गर्मी मौसमअनुसार प्रशिक्षण तालिका परिवर्तन गर्नुपर्ने बहस पनि सुरु भएको छ । अत्यधिक तापक्रम भएका क्षेत्रमा बिहान–बेलुकाको समय छनोट गर्ने, पर्याप्त पानी र प्राथमिक उपचारको व्यवस्था गर्ने तथा जोखिम अवस्थाको पूर्वतयारी गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीहरूले पनि सर्वसाधारणलाई अत्यधिक गर्मीमा सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्किन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा शरीरमा कमजोरी महसुस भए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.