कोशी, मधेश र तराईका भूभागमा अत्यधिक गर्मी महसुस हुने

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ ।
आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी र मधेश प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
