स्वास्थ्य

कुकुरले सुँघेर पत्ता लगाउँदै क्यान्सर, एआईले गर्दैछ विश्लेषण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एएनआई, बेङ्गलुरु। कुकुरको तीव्र घ्राणशक्ति र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत बेङ्गलुरुको एक स्टार्टअप कम्पनीले क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्ने प्रविधि विकास गरिरहेको छ। कम्पनीका अनुसार यो विधिबाट क्यान्सरको परीक्षण सस्तो, सहज, सटीक तथा पीडारहित बनाउन सकिने सम्भावना रहेको छ।

‘डग्नोसिस’ नामक स्टार्टअपले क्यान्सरसँग सम्बन्धित रासायनिक यौगिक पहिचान गर्न कुकुरको असाधारण सुँघ्ने क्षमता र एआई–आधारित विश्लेषणको सहारा लिएको छ। कम्पनीले पछिल्ला दुई वर्षमा दोस्रो चरणअन्तर्गत करिब १ हजार ५ सय जनामाथि परीक्षण गरिएको र त्यसमा यो प्रविधिले ९० प्रतिशतभन्दा बढी सटीकतासहित क्यान्सरका प्रारम्भिक संकेत पत्ता लगाउन सफल भएको दाबी गरेको छ।

बिज्ञापन

परियोजनासँग आबद्ध क्यान्सर विशेषज्ञ डा. स्वरातिका मजुमदारका अनुसार यो क्यान्सर पहिचान गर्ने प्रारम्भिक, सरल र कम खर्चिलो माध्यम बन्न सक्छ। उनका अनुसार, यदि व्यक्तिमा क्यान्सर छ भने कुकुरहरूले करिब ९० प्रतिशत अवस्थामा त्यसको संकेत छुट्याउन सक्ने क्षमता देखाएका छन्।

यो प्रक्रियामा बिरामीलाई विशेष रूपमा तयार गरिएको मास्कमा करिब १० मिनेटसम्म सास फेर्न लगाइन्छ। यसरी सङ्कलन गरिएको सासमा रहेका भोलाटाइल अर्गानिक कम्पाउन्ड (VOC) ले शरीरमा रोगको उपस्थितिबारे संकेत दिने बताइएको छ।

त्यसपछि नमुनालाई प्रयोगशालामा लगेर विशेष तालिम प्राप्त कुकुरमार्फत परीक्षण गरिन्छ। सेन्सर र निगरानी प्रणाली जडान गरिएको नियन्त्रित परीक्षण वातावरणमा कुकुरहरूले सासका नमुना सुँघ्ने गर्छन्। उनीहरूको प्रतिक्रियालाई सेन्सरमार्फत रेकर्ड गरी एआई–आधारित एल्गोरिदमबाट विश्लेषण गरिन्छ।

डग्नोसिसका सीईओ आकाश कुलगोडका अनुसार कुकुरहरूलाई रोगसँग सम्बन्धित गन्ध संकेतहरू पहिचान गर्न विशेष तालिम दिइएको हुन्छ। उनका अनुसार मास्कमा सङ्कलित VOC तत्वहरूले व्यक्तिमा रोग भए वा नभएको जानकारी दिन सक्छन्।

कम्पनीकी अफिस एसोसिएट सृष्टिका अनुसार यो प्रविधिले सास परीक्षणकै आधारमा क्यान्सरको प्रारम्भिक पहिचान सम्भव रहेको देखाएको छ। साथै, भारतमा विकसित यस्तो प्रविधिले विश्वस्तरमै क्यान्सरको शीघ्र पहिचानमा योगदान पुर्‍याउन सक्ने विश्वास गरिएको छ।

भारतमा प्रत्येक वर्ष लाखौँ क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्। विज्ञहरूका अनुसार एआई र जैविक पहिचान प्रणालीको संयोजनमा विकसित भइरहेका यस्ता प्रविधिले भविष्यमा क्यान्सरको समयमै परीक्षण र उपचारमा महत्वपूर्ण सुधार ल्याउन सक्छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।