सुनचाँदी व्यवसायीले आफ्नै पसलमा गरे पौने २ करोडको चोरी ! सीसीटीभीले खोल्यो पोल

रूपन्देही । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा पौने २ करोड मूल्य बराबरको सुनचाँदी चोरी प्रकरणमा नाटकीय ट्वीस्ट आएको छ ।
चोरीको घटना पसल सञ्चालक स्वयम्को योजनामा भएको प्रहरीले निष्कर्ष निकालेपछि यस क्षेत्रका अन्य व्यवसायी तथा स्थानीय आश्चर्यमा परेका छन् ।

प्रहरी अनुसन्धानबाट पसल सञ्चालक दीपक विक (सेन्चुरी)ले बीमा कम्पनीबाट रकम दाबी गर्न तथा ग्राहक र अन्य सुन व्यवसायीले धितो राखेका सुनका गरगहना फिर्ता दिन नसक्ने अवस्थाबाट उम्किन चोरीको नाटक रचेको खुलेको हो ।
जेठ १७ गते राति करिब ७० तोला सुनचाँदीका गहना हराएको थियो । त्यसको भोलिपल्ट बिहान बुटवल–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलको सटर खुला अवस्थामा भेटिएपछि छिमेकीले सञ्चालकलाई खबर गरेका थिए भने ।

सञ्चालक आफैले पनि प्रहरीलाई फोन गरी आफ्नो पसल चोरी भएको जनाएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय बुटवलमा चोरीको सूचना पुगेको थियो ।
प्रहरीका अनुसार घटनाको सूचना आउँदा सञ्चालक दीपक विक आफू पोखरा गएको बताइरहेका थिए । तर अनुसन्धान गहिरिँदै जाँदा घटनाको वास्तविकता फरक रहेको खुलेको हो ।
इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले करिब आठ दिनसम्म निरन्तर अनुसन्धान गर्दा सञ्चालक स्वयं नै योजनाकार रहेको पुष्टि भएको रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए ।
शाहीका अनुसार घटनास्थलको प्रकृति हेर्दा नै प्रहरीलाई सुरुदेखि शंका लागेको थियो ।
‘घटनास्थलमा चोरी गर्न आवश्यक पर्ने बल प्रयोग भएको देखिएन । च्यानल गेट, सटर र लकरमा बाह्य व्यक्तिले प्रवेश गर्दा हुने तोडफोड थिएन । त्यसैले घरभित्रकै वा पसलसँग सम्बन्धित व्यक्तिको संलग्नता हुन सक्छ भन्ने प्रारम्भिक निष्कर्षमा हामी पुगेका थियौँ,’ एसपी शाहीले भने ।

अनुसन्धानका क्रममा प्रहरीले बुटवलका करिब १५० स्थानमा जडित सीसीटीभी फुटेज अध्ययन गरेको थियो । फुटेज विश्लेषण गर्दा सञ्चालक दीपक विकले पोखरा गएको बहाना बनाए पनि उनी आफ्नै कर्मचारी नवीन विकसँग बुटवलमै रहेको देखिएपछि उनको योजनाबारे प्रहरीलाई अनुसन्धान गर्न थप बल पुगेको थियो । प्रहरीका अनुसार जेठ १६ गते राति दुवै जना बुटवलको एक होटलमा बसेर योजनाबद्ध छलफल गरेका थिए ।
मध्यरातपछि दीपक विक आफ्नै पसलभित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ । प्रहरी अनुसन्धानले देखाएअनुसार उनी करिब साढे दुई घण्टा पसलभित्र बसेका थिए ।
त्यसपछि सुनका गरगहना राखिएको झोला बोकेर राति करिब २ः३० बजे पसलबाट बाहिरिएको दृश्य विभिन्न सीसीटीभी फुटेजमा कैद भएको छ । झोला बोकेर उनी तिनाउ पुल हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ गएको र पछि गोलपार्क तथा सिद्धबाबा क्षेत्रसम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले पसलभित्र ठूलो चाबीको झुप्पा फेला पारेको थियो । सुन राखिएको लकर खुला अवस्थामा थियो भने अन्य लकर सुरक्षित थिए । पसलमा जबर्जस्ती प्रवेश गरिएको कुनै प्रमाण भेटिएको थिएन । प्रहरी प्रमुख शाहीका अनुसार सुरुदेखि नै शंका लागे पनि पर्याप्त प्रमाणबिना सञ्चालकलाई नियन्त्रणमा लिन सकिने अवस्था थिएन ।
‘पहिलो दिनमै घरकै मानिसको संलग्नता हुनसक्ने देखिएको थियो । तर त्यसलाई कानुनी रूपमा पुष्टि गर्न सात–आठ दिनसम्म विभिन्न अनुसन्धानात्मक उपकरण र प्रविधि प्रयोग गर्नुपर्यो’ उनले भने ।
प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि सञ्चालक दीपक विकले आर्थिक समस्याका कारण घटना रचेको स्वीकार गरेको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार ग्राहक तथा अन्य व्यवसायीले धितोका रूपमा राखेका सुनका गरगहना उनले विभिन्न समयमा बिक्री गरिसकेका थिए । सुनको मूल्य निरन्तर बढ्दै गएपछि ती गरगहना फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका थिए । त्यससँगै पसलको बीमा रकमबाट क्षतिपूर्ति पाउने र चोरी भएको बहाना बनाएर धरौटीमा राखिएको सुन फिर्ता नदिन सकिने उद्देश्यले योजनाबद्ध रूपमा घटना सिर्जना गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी नविन श्रीवास्तवका अनुसार सुन व्यवसायमा कहिलेकाहीँ यस्ता प्रकृतिका आर्थिक अपराध देखिने गरेका छन् ।
‘ग्राहकले धितो वा सुरक्षाका लागि राखेका सुन फिर्ता गर्न नसक्ने, आर्थिक संक

टमा पर्ने वा बीमा रकम असुल्ने उद्देश्यले कृत्रिम चोरीका घटना रचिएका उदाहरण विगतमा पनि भेटिएका छन्,’ उनले भने ।
प्रहरीले हालसम्म ५ तोला ४१ लाल सुन र १४ किलो ३०० ग्राम चाँदी बरामद गरेको जनाएको छ । तर हराएको भनिएको सम्पूर्ण सुन अझै फेला परिसकेको छैन । प्रहरीका अनुसार सञ्चालकले करिब ७० तोला सुन हराएको जानकारी दिएका छन् ।
यद्यपि पसलमा अन्य व्यक्तिले सुरक्षाका लागि वा धितोस्वरूप राखेका सुनको वास्तविक परिमाण अझै यकिन भइसकेको छैन । घटना सार्वजनिक भएसँगै केही व्यक्तिहरूले आफूहरूले पनि उक्त पसलमा सुन राखेको भन्दै प्रहरीसँग सम्पर्क गर्न थालेका छन् ।
प्रहरीले सञ्चालक दीपक विक र कर्मचारी नवीन विकलाई नियन्त्रणमा लिएर आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
साथै बीमा कागजात, वित्तीय कारोबार, धरौटीका अभिलेख र सुनको वास्तविक विवरणसमेत परीक्षण भइरहेको छ । यदि अनुसन्धानबाट पुष्टि भएका तथ्य अदालतमा प्रमाणित भए भने यो घटना सामान्य चोरी नभई बीमा ठगी, विश्वासघात र योजनाबद्ध आर्थिक अपराधको उदाहरणका रूपमा स्थापित हुनेछ त्यहाँ पुगेका व्यवसायीहरुले जनाए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.