बाँकेको बैजनाथमा प्रहरीमाथि खुकुरी प्रहार, एक महिला हिरासतमा

बाँके, बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित श्री ईश्वरी माध्यमिक विद्यालयको जग्गा खाली गराउने क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार भएको छ। घटनामा संलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्राप्त जानकारी अनुसार विद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा केही वर्षअघि लिजमा दिएको थियो। लिज अवधि समाप्त भइसकेपछि विद्यालय प्रशासनले सम्बन्धित व्यक्तिलाई पटक–पटक जग्गा खाली गर्न आग्रह गरेको बताइएको छ। तर, उक्त आग्रहलाई बेवास्ता गर्दै जग्गा खाली नगरिएपछि विद्यालय, स्थानीय सरकार तथा प्रशासनको समन्वयमा आज जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको थियो।

जग्गामा निर्माण गरिएका संरचना हटाउन स्थानीय सरकार र प्रहरीको उपस्थितिमा डोजर परिचालन गरिएको थियो। सोही क्रममा संरचना भत्काउन लागिएको विषयलाई लिएर विवाद उत्पन्न भएको बताइएको छ। विवाद बढ्दै जाँदा एक महिलाले अचानक ड्युटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार गरेकी थिइन्।
प्रहरीका अनुसार घटनापछि तत्काल सुरक्षाकर्मीले ती महिलालाई नियन्त्रणमा लिएका छन्। घटनामा संलग्न महिलाको परिचय तथा प्रहारबाट प्रहरीलाई भएको क्षतिको विवरण भने खुलाइएको छैन। घाइते प्रहरीको अवस्था बुझ्ने तथा आवश्यक उपचारको व्यवस्था गर्ने काम भइरहेको जनाइएको छ।
घटनापछि उक्त क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भए पनि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए। स्थानीय प्रशासनले कानुनी प्रक्रिया अनुसार जग्गा खाली गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ।
प्रहरीले घटनाको कारण, विवादको पृष्ठभूमि तथा महिलाले प्रयोग गरेको धारिलो हतियार सम्बन्धी विषयमा विस्तृत अनुसन्धान सुरु गरेको छ। साथै, घटनासम्बन्धी थप तथ्य र विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
