हैदराबादमा नेपाली गिरोहद्वारा करोडौंको सुन चोरी, ४८ घण्टामै तीन जना पक्राउ

हैदराबाद , ११ जून । भारतको तेलंगाना राज्यस्थित हैदराबादको गच्चीबोवली क्षेत्रमा रहेको एक व्यवसायीको भिल्लाबाट करोडौं रुपैयाँ बराबरको सुन तथा गहनाहरू चोरी गरेको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन्। साइबराबाद प्रहरीले घटनाको ४८ घण्टाभित्रै तीनै जनालाई उत्तर प्रदेशबाट पक्राउ गर्दै चोरी भएको सम्पूर्ण सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार गच्चीबोवलीस्थित हिल रिज भिलासमा बस्दै आएका एक वृद्ध दम्पत्तिको घरमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली दम्पत्तिले योजनाबद्ध रूपमा चोरी गरेका थिए। उनीहरूलाई घरको कामकाज तथा खाना बनाउने जिम्मेवारीसहित करिब एक महिनाअघि मात्रै नियुक्त गरिएको थियो।

जुन ६ मा घरधनी दम्पत्ति मुम्बई भ्रमणमा रहेका बेला आरोपीहरूले लकर नजिकै राखिएको चाबी प्रयोग गरी कुनै तोडफोड नगरी लकर खोलेर सुन, हीरा तथा अन्य बहुमूल्य गहनाहरू चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चोरीपछि शंका नहोस् भनेर उनीहरूले लकर पुनः बन्द गरी चाबी समेत साथमा लिएर फरार भएका थिए।
जुन ७ मा मुम्बईबाट फर्किएका घरधनीले घरमा कार्यरत नेपाली कामदारहरू बेपत्ता भएको पाएपछि शंका गरेका थिए। प्रारम्भिक जाँचका क्रममा पूजा कोठामा राखिएको मूर्तिबाट सुनको चेन हराएको देखिएपछि उनीहरूले गच्चीबोवली प्रहरीमा उजुरी दिएका थिए।
भोलिपल्ट घरधनीका छोराले मुख्य लकर खोलेपछि ठूलो परिमाणमा सुन तथा बहुमूल्य गहनाहरू हराएको पुष्टि भएको थियो। प्रहरीका अनुसार लकरबाट करिब ७ देखि ८ किलोग्राम सुन तथा हीराका गहना र झण्डै १.५ किलोग्राम चाँदीका गहना चोरी भएका थिए। बरामद गरिएका गहनाको मूल्य बजारमा करिब ५ देखि १२ करोड भारतीय रुपैयाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
घटनाको गम्भीरता हेर्दै साइबराबाद प्रहरी कमिश्नरले विशेष अपरेशन टोली (SOT) सहित छ वटा अनुसन्धान टोली परिचालन गरेका थिए। सीसीटीभी फुटेज, मोबाइल लोकेशन तथा अन्य प्राविधिक प्रमाणका आधारमा आरोपीहरू नेपालतर्फ भाग्ने तयारीमा रहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
हैदराबाद प्रहरीको सूचनाका आधारमा जुन ९ मा उत्तर प्रदेशको रामपुर जिल्ला प्रहरी र उत्तराखण्ड सीमा क्षेत्रमा खटिएको विशेष टोलीले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो। रामपुर जिल्लाको उधमपुर क्षेत्र नजिकै उत्तराखण्ड रोडवेजको बसमा यात्रा गरिरहेका तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये कमल शाही, उनकी पत्नी विमला शाही तथा कमलकी साली कल्पना शाही रहेका छन्। उनीहरू सबै नेपालका स्थायी बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रहरीले तीनै जनाको साथबाट चोरी भएका सम्पूर्ण सुन, हीरा तथा चाँदीका गहनाहरू सुरक्षित अवस्थामा बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
