कर्णालीमाथिका दुई पुल सञ्चालनको तयारीमा, टीकापुर–बर्दिया कनेक्टिभिटी थप सुदृढ हुने

टीकापुर, ९ कैलाली। कैलालीको टीकापुर र बर्दियाबीचको भौतिक पहुँच तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने दुई महत्वपूर्ण पुल निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा पुगेका छन्। कर्णाली नदीमाथि निर्माण गरिएका सनकट्टी मोटरेबल पुल र दौलतपुर झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुई जिल्लाबीचको आवतजावत सहज हुनुका साथै कृषि, व्यापार, उद्योग र पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
टीकापुरलाई बर्दियाको गेरुवा गाउँपालिका तथा बर्दिया राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष रूपमा जोड्ने सनकट्टी पुल निर्माण सम्पन्न भइसकेको छ। ७५२ मिटर लामो र ११ मिटर चौडा उक्त पुल रसुवा कन्स्ट्रक्सनले करिब दुई वर्षको अवधिमा निर्माण गरेको हो। पुल निर्माणमा करिब १ अर्ब ४ करोड रुपैयाँ लागत लागेको बताइएको छ।

यो पुल सञ्चालनमा आएपछि टीकापुर र बर्दियाको राजापुर क्षेत्रबीचको यातायात पहुँच उल्लेखनीय रूपमा सुधार हुने अपेक्षा गरिएको छ। यसले कृषि उत्पादनको ढुवानी तथा बजारीकरणलाई सहज बनाउने, व्यापारिक गतिविधि विस्तार गर्ने र उद्योग तथा पर्यटन विकासका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्जसम्मको पहुँच सहज हुने भएकाले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरूको भनाइ छ।
यस्तै, टीकापुरको दक्षिण क्षेत्रमा रहेको पुरानो कर्णाली हटारु–राजापुर मार्ग अन्तर्गत दौलतपुर घाटमा निर्माण गरिएको झोलुङ्गे पुल पनि सञ्चालनका लागि तयार भएको छ। ४८२ मिटर लम्बाइ र १.६ मिटर चौडाइ रहेको उक्त पुलले टीकापुर र राजापुरबीचको दूरी घटाउनेछ।
स्थानीयवासीका अनुसार झोलुङ्गे पुल निर्माणसँगै वर्षौंदेखि नदी तरेर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। यसले विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। साथै दुई क्षेत्रबीचको सामाजिक तथा आर्थिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको छ।
कर्णाली नदीमाथि निर्माण सम्पन्न भएका यी दुई पुलले टीकापुर र बर्दियाबीचको कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्याउने स्थानीयको अपेक्षा छ। पूर्वाधार विकासका यी आयोजनाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सीमावर्ती क्षेत्रबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै क्षेत्रीय विकास र समृद्धिको आधार तयार गर्ने विश्वास गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
