सामाजिक सञ्जालमा अपमानजनक भिडियो सार्वजनिक भएपछि १३ वर्षीया किशोरीको आत्महत्या, एक पक्राउ

बारा। बाराको कलैया उपमहानगरपालिका–२१ मा सामाजिक सञ्जालमा अपमानजनक भिडियो सार्वजनिक भएपछि १३ वर्षीया एक किशोरीले आत्महत्या गरेकी छन्। घटनाले सामाजिक सञ्जालको दुरुपयोग र किशोर–किशोरीमाथि हुने दुर्व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।
प्रहरीका अनुसार मृतक सरिया खातुन आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

परिवारका अनुसार गत १५ असारमा गाउँकै केही युवाले किशोरीलाई बाँसको झाडी नजिक घेरेर दुर्व्यवहार गरेका थिए। घटनाका क्रममा खिचिएको भिडियोमा उनीमाथि अपमानजनक शब्द प्रयोग गरिएको, गालीगलौज गरिएको, थप्पड हानिएको तथा धकेलिएको देखिएको बताइएको छ। भिडियोमा किशोरीले रुँदै आफूलाई छाडिदिन आग्रह गरिरहेकी भए पनि दुर्व्यवहार जारी रहेको परिवारको दाबी छ।
उक्त भिडियो पछि स्थानीय युवामार्फत सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। परिवारले सार्वजनिक अपमान सहन नसकी किशोरीले आत्महत्या गरेको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार भिडियो १५ असारमा सार्वजनिक भएको थियो भने त्यसको भोलिपल्ट किशोरी मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि पीडित परिवारले भिडियोमा देखिएका सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन तथा बलात्कार उद्योगसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दिएको छ। जाहेरीका आधारमा प्रहरीले १७ असारमा एक युवकलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
एसपी कुँवरले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै आत्महत्याको कारण र घटनाका सबै पक्षबारे विस्तृत छानबिनपछि मात्रै आधिकारिक निष्कर्ष सार्वजनिक गरिने जानकारी दिए।
प्रहरीले सामाजिक सञ्जालमा अपमानजनक सामग्री प्रसारण वा साझा गर्नु कानुनी रूपमा दण्डनीय हुन सक्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.