अर्थ

बिस्कुट फ्याक्ट्रीका कर्मचारीदेखि अस्ट्रेलियामा सफल उद्योगी बने सुजन केसी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मेलबर्न (अस्ट्रेलिया) — काभ्रेका सुजन केसी अध्ययनका लागि सन् २००९ मा अस्ट्रेलिया पुगेका थिए। प्रारम्भिक दिनमा उनले बिस्कुट फ्याक्ट्रीमा काम गर्दै उद्योग सञ्चालनको व्यावहारिक अनुभव बटुले। त्यही अनुभवलाई आधार बनाएर उनी अहिले अस्ट्रेलियामा सफल खाद्य उद्योगीका रूपमा स्थापित भएका छन्।

केसीले सन् २०१९ मा एक इन्जिनियर सहकर्मीसँग साझेदारी गर्दै अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ट्रुगानिनामा करिब १० लाख अस्ट्रेलियन डलरको लगानीमा डरफर्ड फाइन फुड्स स्थापना गरेका हुन्।

बिज्ञापन

व्यवसाय सुरु गर्न उनले घर खरिदका लागि बचत गरेको रकमसमेत लगानी गरेका थिए। जोखिमपूर्ण निर्णय भए पनि आफ्नो अनुभव र मेहनतले सफलता हासिल गर्ने विश्वासका साथ उद्योग स्थापना गरेको उनले बताएका छन्।

हाल उक्त फ्याक्ट्रीमा ५५ देखि ६० प्रकारका बिस्कुट तथा कुकिज उत्पादन हुँदै आएको छ। आफ्नै ब्रान्डमा उत्पादन नगरे पनि विभिन्न कम्पनी तथा सुपरमार्केटका लागि कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङमार्फत उत्पादन गरिँदै आएको छ। फ्याक्ट्रीका उत्पादन अस्ट्रेलियाका प्रमुख सुपरमार्केटका साथै अमेरिका र हङकङसम्म निर्यात हुने गरेको छ।

फ्याक्ट्रीमा उत्पादनदेखि प्याकेजिङसम्मका अधिकांश काममा नेपालीलाई प्राथमिकताका साथ रोजगारी दिइएको छ। सामान्य समयमा करिब २५ जना र उत्पादनको व्यस्त मौसममा ६० जनासम्म कर्मचारी कार्यरत रहने कम्पनीले जनाएको छ।

उद्योगका लागि आवश्यक अधिकांश खाद्य कच्चा पदार्थ अस्ट्रेलियामै खरिद गरिए पनि प्याकेजिङका केही सामग्री नेपाल र भारतबाट आयात गरिने गरिएको छ। परिश्रम, अनुभव र उद्यमशीलताको उदाहरणका रूपमा सुजन केसीको यात्रा अहिले धेरै नेपालीका लागि प्रेरणाको विषय बनेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।