कैलालीको लम्किचुहामा ईभी गाडीको ठक्करबाट ९ वर्षीया बालिका गम्भीर घाइते

लम्किचुहा । कैलालीको लम्किचुहा नगरपालिका–१ भुरुवामा विद्युतीय (ईभी) गाडीको ठक्करबाट ९ वर्षीया बालिका गम्भीर घाइते भएकी छन्।
बुधबार साँझ करिब ४:४० बजे धनगढीबाट लम्की हुँदै टिकापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५५६ नम्बरको ईभी गाडीले चुरे गाउँपालिका–४ स्थायी घर भई हाल लम्किचुहा–१ भुरुवामा मामाको घरमा बस्दै आएकी गरिस्मा थाहालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गरिस्मा वैशाख महिनादेखि मामाको घरमा बस्दै आएकी थिइन्। उनी श्री सरस्वती माध्यमिक विद्यालय, भुरुवामा कक्षा ६ मा अध्ययनरत रहेको बताइएको छ।
दुर्घटनामा परेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेको, शरीरका विभिन्न भागमा चोटपटक लागेको तथा दाहिने खुट्टा भाँचिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनालगत्तै उनलाई उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको चिकित्सकले बताएका छन्।
उता, इलाका प्रहरी कार्यालय लम्कीले दुर्घटनामा संलग्न ईभी गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
