वडा नं. ४ द्वारा ५० प्रतिशत अनुदानमा आँप र लिचीका बिरुवा वितरण

अस्नेरी, २५ असार । वडा नं. ४ ले “एक घर, दुई फलफूल बिरुवा” अभियानअन्तर्गत वडावासीलाई ५० प्रतिशत अनुदानमा आँप र लिचीका कलमी बिरुवा वितरण गरेको छ।

बिरुवा वितरण कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ४ का वडाध्यक्ष लालबीर चौधरीले अभियानले वडावासीलाई आफ्नै घरमा अर्गानिक तथा ताजा आँप र लिची उत्पादन गरी उपभोग गर्न सहज हुने बताउनुभयो। उहाँले फलफूल खेतीको विस्तारसँगै जलवायु अनुकूलता, हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, आयआर्जनका अवसर सिर्जना तथा स्थानीय स्तरमा ताजा फलफूल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

कृषि ज्ञान केन्द्र धनगढीको ५० प्रतिशत अनुदानमा सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक घरधुरीलाई एक वटा आँप र एक वटा लिचीका कलमी बिरुवा वितरण गरिएको थियो। अनुदानपछि प्रत्येक बिरुवाको मूल्य रु. ५० कायम गरिएकाले वडावासीले रु. १०० मा दुई वटा बिरुवा प्राप्त गरेका छन्। थप बिरुवा आवश्यक पर्नेले निर्धारित मूल्य तिरेर अतिरिक्त बिरुवा पनि खरिद गर्न सक्ने व्यवस्था गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो।

बिरुवा वितरण कार्यक्रममा वडावासीको उल्लेखनीय सहभागिता देखिएको थियो। बिरुवा प्राप्त गर्न बिहानैदेखि वडा कार्यालयमा स्थानीयको ठूलो भीड लागेको थियो भने उत्साहपूर्वक उपस्थित भई अधिकांश वडावासीले अभियानमा सहभागिता जनाएका थिए।
वडाले यस अभियानले प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने संस्कृतिको विकास हुनुका साथै वातावरण संरक्षण, हरियाली विस्तार र स्थानीय बासिन्दाको आर्थिक तथा पोषण अवस्थामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.