चितवनको सडकबाट अमेरिकासम्म पुग्यो बेवारिसे कुकुर, उद्धारका लागि १० हजार डलरभन्दा बढी खर्च

चितवन । चितवनको भरतपुरमा सडकमा बेवारिसे जीवन बिताइरहेको एउटा कुकुरले अप्रत्याशित रूपमा नयाँ जीवन पाएको छ। एक अमेरिकी आमा–छोरीको पहलमा उक्त कुकुरलाई उद्धार गरी अमेरिकाको कोलोराडो लगिएको हो।
जानकारी अनुसार होटल परिसरमा पुगेको कुकुरलाई सुरक्षा गार्डले लखेटिरहेको देखेपछि अमेरिकी नागरिक चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसन भावुक बनेका थिए। त्यसपछि उनीहरूले कुकुरलाई खोजेर ल्याउन आग्रह गर्दै उसको हेरचाह सुरु गरेका थिए।

केही समय स्याहार–सुसार गरेपछि आमा–छोरीले उक्त कुकुरलाई आफ्नै परिवारको सदस्य बनाउने निर्णय गरेका थिए। त्यसका लागि आवश्यक सबै कानुनी तथा स्वास्थ्यसम्बन्धी प्रक्रिया पूरा गरिएको जनाइएको छ।
कुकुरलाई अमेरिकासम्म लैजान स्वास्थ्य परीक्षण, ‘फिट टु फ्लाइट’ प्रमाणपत्र, पेट पासपोर्टलगायत आवश्यक कागजी प्रक्रिया पूरा गरी कतार एयरलाइन्समार्फत अमेरिकाको कोलोराडो पुर्याइएको हो। यस सम्पूर्ण प्रक्रियामा १० हजार अमेरिकी डलरभन्दा बढी खर्च भएको बताइएको छ।
सडकमा बेवारिसे अवस्थामा जीवन बिताइरहेको कुकुरले अब सुरक्षित घर, नयाँ परिवार र माया पाएको छ। यो घटनालाई जनावरप्रतिको करुणा, जिम्मेवारी र मानवीय संवेदनाको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
