सीमा क्षेत्र हुँदै भाग्ने तयारीमा रहेका फरार थुनुवा अस्नेरीबाट पक्राउ

कैलाली, २५ असार — टिकापुरस्थित प्रहरी हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका एक थुनुवा चार दिनपछि अस्नेरी क्षेत्रबाट पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्षबाट असार २१ गते राति फरार भएका टिकापुर नगरपालिका–२, राजीपुर निवासी ३१ वर्षीय थुनुवालाई प्रहरीले असार २५ गते टिकापुर नगरपालिका–४, अस्नेरीबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट परिचालित संयुक्त प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई सीमा क्षेत्रतर्फ भाग्ने तयारीमा रहेको अवस्थामा फेला पारेको जनाएको छ। प्रहरीका अनुसार उनी नगार्जी से २ प १०४५ नम्बरको मोटरसाइकल चलाउँदै सीमा क्षेत्रतर्फ जाँदै गरेका बेला पक्राउ परेका हुन्।
लागूऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा पक्राउ परेका उनी हिरासतबाट फरार भएपछि प्रहरीले विशेष खोज अभियान सञ्चालन गरेको थियो। पक्राउ परेका थुनुवालाई पुनः इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
