‘बाबा–मम्मीलाई केयर गर्नु’ भन्दै दाइसँग अन्तिम आग्रह, आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २६ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। वीर अस्पतालको बर्न युनिटमा उपचाररत उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश हाल भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। उनी राइड सेयरिङ एपमार्फत मोटरसाइकल चलाएर परिवारको जीविकोपार्जन गर्दै आएका थिए। वैदेशिक रोजगारीको तयारीसँगै लोकसेवा अध्ययन गरिरहेका गणेशको आर्थिक अवस्था कमजोर रहेको परिवारले जनाएको छ।

घटनाको दिन राहदानी विभाग बाहिर पार्किङ गरिएको उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ‘ह्वील लक’ लगाएका थिए। यसअघि पनि पटक–पटक जरिवाना तिर्दै आएका गणेशलाई उक्त दिन पनि एक हजार रुपैयाँ जरिवाना तिर्न भनिएको थियो। आफन्तका अनुसार निरन्तर जरिवानाको दबाबले उनी मानसिक तनावमा थिए। केही दिनअघि मात्रै पनि उनले जरिवानाबारे गुनासो गर्दै आफन्तलाई सन्देश पठाएका थिए।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी विष्णुप्रसाद जोशीका अनुसार ह्वील लक लगाइएको करिब दुई घण्टासम्म पनि जरिवाना नतिरेपछि सवारीसाधन उठाउन टोली पुगेको थियो। सोही क्रममा गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएको नगर प्रहरीको दाबी छ। घटनाबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको जनाएको छ।
अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुअघि गणेशले आफ्ना दाइ मदन नेपालीलाई भावुक हुँदै, “बाबा–मम्मीलाई केयर गर्नु। यो सबै महानगरको कारणले भएको हो,” भनेको परिवारजनले बताएका छन्।
परिवारका अनुसार उपचारका लागि आवश्यक खर्च जुटाउन निकै कठिनाइ भइरहेको छ। जेठान पदम नेपालीले नागरिकता धितो राखेर समेत उधारोमा औषधि ल्याउनुपर्ने अवस्था आएको बताए। गणेशकी श्रीमती र तीन वर्षीया छोरी अहिले थप पीडामा रहेको परिवारको भनाइ छ। उनीहरूले उपचारका लागि सहयोग र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
यस घटनापछि सार्वजनिक स्थानमा गरिने ‘ह्वील लक’ कारबाही, त्यसको कार्यान्वयन प्रक्रिया तथा न्यून आय भएका नागरिकमाथि त्यसले पार्ने मनोवैज्ञानिक प्रभावबारे सार्वजनिक बहस चर्किएको छ। घटनाको विरोधमा माइतीघर मण्डलामा प्रदर्शनसमेत सुरु भएको छ।
प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान भइरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
