दाङकी युवतीलाई भारतमा बेचविखन गरेको अभियोगमा दम्पतीलाई ३० वर्षसम्म कैद

दाङ । दाङकी २२ वर्षीया एक युवतीलाई भारतमा बेचविखन गरेको अभियोगमा जिल्ला अदालत दाङले एक दम्पतीसहित तीन जनालाई दोषी ठहर गर्दै २७ देखि ३० वर्ष ६ महिनासम्म कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिहीबार सुनाएको फैसलाअनुसार तुलसीपुर उपमहानगरपालिका–१६ निवासी राजेश नेपालीलाई ३० वर्ष ६ महिना कैद, २ लाख ५ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।

त्यस्तै, उनकी पत्नी राधा पाण्डेलाई ३० वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको अदालतले जनाएको छ।
यसै मुद्दामा भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्ला, इमिलिया निवासी राम निवास मौर्यलाई २७ वर्ष कैद, ३ लाख ५० हजार रुपैयाँ जरिवाना तथा १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाइएको छ।
अदालतका अनुसार राजेश नेपालीलाई मानव बेचविखन कसुरमा २० वर्ष, पीडितलाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष तथा पटके कसुरमा थप ६ महिना गरी कुल ३० वर्ष ६ महिनाको कैद सजाय निर्धारण गरिएको हो।
राधा पाण्डेलाई मानव बेचविखन कसुरमा २० वर्ष र यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष गरी ३० वर्ष कैद सजाय सुनाइएको छ।
यस्तै, राम निवास मौर्यलाई मानव बेचविखन कसुरमा २० वर्ष र जबरजस्ती करणी कसुरमा थप ७ वर्ष गरी २७ वर्ष कैद सजाय तोकिएको अदालतले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
