नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने, राष्ट्र बैंकले दियो औपचारिक अनुमति

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारू) २०० र ५०० दरका नोटको कारोबार औपचारिक रूपमा खुला गरेको छ। बिहीबार सार्वजनिक गरिएको सूचनाअनुसार अब नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति भारू २५ हजारसम्मका २०० र ५०० दरका नोट नेपाल–भारतबीच ल्याउन, लैजान र सटही गर्न पाउने भएका छन्।
राष्ट्र बैंकका अनुसार यो व्यवस्था सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई हाल चलनचल्तीमा रहेका भारू २०० र ५०० दरका नोटमा मात्र लागू हुनेछ। यसबाट नेपाल–भारतबीच आवतजावत गर्ने नागरिक, सीमा क्षेत्रका बासिन्दा, व्यापारी, पर्यटक, उपचार तथा अध्ययनका लागि भारत जाने–आउनेलाई सहज हुने अपेक्षा गरिएको छ।

यसअघि २०० र ५०० दरका भारतीय नोटको प्रयोगबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा सीमा क्षेत्रमा कारोबार र सटहीमा अन्योल देखिने गरेको थियो। नयाँ व्यवस्थासँगै यी नोटको प्रयोग र सटही वैधानिक रूपमा सहज हुने राष्ट्र बैंकको विश्वास छ।
राष्ट्र बैंकले भने सन् २०१६ नोभेम्बर ९ अघि चलनचल्तीमा रहेका भारू ५०० र १००० दरका पुराना नोटको कारोबार भने अझै पनि निषेधित रहेको स्पष्ट पारेको छ। भारत सरकारले नोटबन्दी लागू गरेपछि ती नोट कानुनी रूपमा अमान्य भइसकेका छन्।
त्यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा तेस्रो मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था भने यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ। भारतीय मुद्रा नेपाल र भारतबीचको आवतजावतमा मात्र प्रयोग गर्न मिल्ने प्रावधान कायम रहनेछ।
राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनलाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ। साथै, विदेशी मुद्रासम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना गर्न र तोकिएको सीमाभित्र मात्रै भारतीय मुद्रा प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
