२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसा नगर्न सबैलाई आग्रह

काठमाडौं, ८ साउन । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। उनले केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेका हुन्।
वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

उनका अनुसार सहमतिका सर्तबारे विस्तृत जानकारी छिट्टै भिडियोमार्फत सार्वजनिक गरिनेछ। उनले यस अवधिमा देशका कुनै पनि स्थानमा हिंसात्मक गतिविधि हुन नदिन सबैलाई संयमित र सतर्क रहन आग्रह गरेका छन्।
यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले पनि वाङचुकलाई पत्र लेखेर अनशन अन्त्य गर्न अनुरोध गरेका थिए।
मेडिकल शिक्षासँग सम्बन्धित नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्।
यही मागको समर्थनमा सोनम वाङचुक २६ दिनदेखि आमरण अनशनमा बसेका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
