अमेरिका जाने विदेशी विद्यार्थीका लागि नयाँ नियम, अब चार वर्षभन्दा बढी बस्न नपाइने

काठमाडौं, ८ साउन । अमेरिका अध्ययनका लागि जाने विदेशी विद्यार्थी अब अधिकतम चार वर्षसम्म मात्रै त्यहाँ बस्न पाउने भएका छन्। अमेरिकी गृह सुरक्षा विभाग (Department of Homeland Security) ले विद्यार्थी भिसा प्रणालीलाई व्यवस्थित बनाउन र दुरुपयोग रोक्न नयाँ प्रस्तावित नियम सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार एफ–१ (F-1) र जे–१ (J-1) भिसामा अमेरिका जाने अधिकांश विदेशी विद्यार्थीलाई चार वर्षसम्मको बसाइ अवधि (Fixed Period of Stay) दिइनेछ। यदि अध्ययन चार वर्षभित्र पूरा हुन नसके थप समयका लागि अमेरिकी अध्यागमन निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि भने विद्यार्थीले आफ्नो अध्ययन कार्यक्रम पूरा नभएसम्म अमेरिकामा बस्न पाउने व्यवस्था थियो। नयाँ नियमले पहिलो पटक विद्यार्थी भिसामा निश्चित समयसीमा तोकेको हो।
यस्तै, अध्ययन पूरा भएपछि अमेरिका छाड्न वा अर्को भिसामा परिवर्तन गर्न दिइने ‘ग्रेस पिरियड’ पनि घटाइएको छ। हालको ६० दिनको अवधि घटाएर ३० दिनमा सीमित गर्ने प्रस्ताव गरिएको छ।
यस व्यवस्थाले अमेरिका अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी पनि प्रभावित हुने अपेक्षा गरिएको छ। अमेरिका नेपाली विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्यमध्ये एक भएकाले अब विश्वविद्यालय छनोट, अध्ययन अवधि, भिसा अवधि, आर्थिक योजना र भविष्यको तयारीबारे थप सचेत भएर निर्णय लिनुपर्ने अवस्था देखिएको छ।
विशेषगरी अनुसन्धान, पीएचडी, चिकित्सा तथा लामो अवधिका शैक्षिक कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले समयमै अध्ययन पूरा गर्ने योजना बनाउनुपर्ने विज्ञहरू बताउँछन्। अन्यथा थप बसाइ अनुमतिका लागि अतिरिक्त प्रक्रिया पूरा गर्नुपर्ने र खर्चसमेत बढ्न सक्नेछ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
