बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालकै पहिलो अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी

चितवन, २१ साउन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक अत्याधुनिक बोनम्यारो प्रत्यारोपण (Bone Marrow Transplant) सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। चीन सरकारको करिब ८४ करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति विकासको काम अघि बढाइएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार केही दिनअघि चीनबाट आएको प्राविधिक टोलीले दुई सातासम्म अस्पतालमा बसेर बोनम्यारो युनिट निर्माणका लागि आवश्यक भवन, उपकरण तथा प्राविधिक व्यवस्थापनबारे विस्तृत अध्ययन गरेको थियो। टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसँग समेत समन्वय गरी परियोजनाको सम्भाव्यता र पूर्वाधारका विषयमा छलफल गरेको थियो।
उनका अनुसार परियोजनालाई औपचारिक रूपमा अघि बढाउन नेपाल सरकारसँग पुनः सम्झौता गर्नुपर्नेछ। त्यसपछि अस्पतालको अन्तरङ्ग सेवा भवनअगाडि तीनतले नयाँ भवन निर्माण गरिनेछ। चिनियाँ पक्षले सन् २०२६ भित्रै निर्माण कार्य सुरु गर्ने तयारी गरेको जनाएको छ।
परियोजनाका लागि चीन सरकारले करिब ३७ मिलियन चिनियाँ युआन (झन्डै ८४ करोड रुपैयाँ) खर्च गर्नेछ। उक्त बजेटबाट भवन निर्माण, अत्याधुनिक चिकित्सा उपकरण खरिद तथा चिकित्सक र नर्सलाई आवश्यक विशेष तालिमको व्यवस्था गरिनेछ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुनेछ। सुरुमा पुरानो भवनबाट सेवा सञ्चालन गर्ने योजना बनाइए पनि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसकिने निष्कर्षपछि नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो। भवन निर्माण हुने स्थानको माटो परीक्षणलगायत प्रारम्भिक तयारी भने सम्पन्न भइसकेको अस्पतालले जनाएको छ।
सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने काम पनि सँगसँगै भइरहेको छ। हाल अस्पतालका तीन जना चिकित्सक तथा नर्स चीनमा विशेष तालिम लिइरहेका छन्। यसअघि पनि तीन स्वास्थ्यकर्मीले छ महिनाको र पाँच जनाले दुई साताको विशेष तालिम पूरा गरिसकेका छन्।
निर्माण कार्य सुरु भएपछि करिब डेढ वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य अस्पतालले लिएको छ। सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने नेपाली बिरामीको बाध्यता उल्लेखनीय रूपमा घट्ने, कम खर्चमा स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध हुने र क्यान्सर उपचार सेवामा नेपालले नयाँ फड्को मार्ने विश्वास गरिएको छ।
वि.सं. २०५१ मा चीन सरकारकै सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल पनि चिनियाँ चिकित्सकहरूले उपचार सेवामा सहयोग गर्दै आएका छन्। नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
