आस्था /आध्यात्म

सत्संग केवल श्रवण होइन, जीवन रूपान्तरणको साधना हो : अध्यक्ष नर बहादुर रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सडकपुर बौनिया, २३ साउन । सन्त निरंकारी सत्संग भवन सडकपुर बौनियामा विशाल सत्संग कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले उपस्थित साधसंगतलाई सम्बोधन गर्दै सद्गुरु माता सुदीक्षा जी महाराजले आगामी निरंकारी सन्त समागमका लागि ‘जागृति’ विषय प्रदान गर्नुभएको बताउनुभयो।

उहाँले ‘जागृति’ केवल निद्राबाट ब्युँझिनु मात्र नभई मानवभित्र रहेका अज्ञान, निन्दा, घृणा, द्वेष, वैरभाव, क्रोध, लोभ, अहंकार तथा आपसी द्वन्द्वबाट जागृत हुनु रहेको बताउनुभयो। “सुतेको मानिसलाई जगाउन सजिलो हुन्छ, तर जागेर पनि सुतिरहेको मानिसलाई जगाउन निकै कठिन हुन्छ,” उहाँले भन्नुभयो। आज मानव समाज भौतिक सुखसुविधाका बीच पनि अज्ञान र विकारमा अल्झिएको भन्दै त्यस्ता मानवलाई आध्यात्मिक चेतनातर्फ जागृत गराउन सद्गुरु माता सुदीक्षा जी महाराज विश्व कल्याण यात्रामा रहनुभएको उहाँले उल्लेख गर्नुभयो।

अध्यक्ष रावलले सद्गुरुको कृपाले मानव जीवनको वास्तविक मूल्य र गरिमा बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो। विगतमा धन, शिक्षा वा सामाजिक प्रतिष्ठाका आधारमा मानिसको मूल्याङ्कन गरिने भए पनि सद्गुरुको ज्ञानले प्रत्येक मानवमा परमात्माको अंश देख्ने दृष्टिकोण प्रदान गरेको उहाँको भनाइ थियो। “नरमा नारायणको रूप देख्नु र सम्पूर्ण मानव परिवारलाई एउटै परिवारका रूपमा स्वीकार गर्नु नै विश्वबन्धुत्वको भावना हो,” उहाँले बताउनुभयो।

उहाँले सन्त निरंकारी दर्शनमा भक्ति गर्नुअघि परमात्माको पहिचान आवश्यक रहेको उल्लेख गर्दै सद्गुरु बाबा हरदेव सिंह जी महाराजको वाणीलाई स्मरण गर्नुभयो। परमात्माको पहिचान भएपछि मात्र ध्यान र भक्ति सही अर्थमा सार्थक हुने उहाँले बताउनुभयो। सत्संगमा नियमित रूपमा सहभागी हुनु मात्र पर्याप्त नहुने बताउँदै अध्यक्ष रावलले सत्संगबाट प्राप्त ज्ञानलाई आफ्नो जीवन र व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। उहाँले ज्ञान सुन्ने तर त्यसलाई मनन नगर्ने र व्यवहारमा लागू नगर्ने हो भने सत्संगको वास्तविक उद्देश्य पूरा हुन नसक्ने बताउनुभयो।

उहाँले एनवाईएस (NYS) सम्बन्धमा रहेको भ्रमबारे पनि स्पष्ट पार्नुभयो। कतिपयले एनवाईएसमा गएपछि केवल खेलकुद, नृत्य तथा मनोरञ्जनका गतिविधि मात्र हुन्छन् भन्ने बुझाइ राखेको भए पनि त्यस्तो नभएको उहाँले बताउनुभयो। एनवाईएसमा खेलकुद तथा विभिन्न गतिविधिसँगै मानव शरीर पृथ्वी, जल, अग्नि, वायु, आकाश लगाएत छ तत्त्वबाट बनेको विषयमा समेत आध्यात्मिक रूपमा व्याख्या गरिने र त्यसको महत्वबारे सरल ढंगले बुझाइने उहाँले स्पष्ट पार्नुभयो। त्यसैले एनवाईएस केवल मनोरञ्जन वा खेलकुदको कार्यक्रम नभई युवाहरूलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा जागृत गराउने माध्यमसमेत भएको उहाँको भनाइ थियो। ज्ञानलाई सुन्ने मात्र नभई त्यसलाई बुझेर आफ्नो जीवनमा प्रयोग गर्न सके मात्र त्यसको वास्तविक सार्थकता प्राप्त हुने उहाँले बताउनुभयो।

उहाँले आस्तिक र नास्तिकबीचको वास्तविक भिन्नता पनि परमात्माको पहिचानमा रहेको बताउनुभयो। परमात्मालाई नजानेसम्म आस्तिक वा नास्तिक भएको दाबीले मात्र आध्यात्मिक उपलब्धि हासिल नहुने भन्दै परमात्माको अनुभूति र ज्ञानबाट मात्र जीवनको वास्तविक उद्देश्य बुझ्न सकिने उहाँले बताउनुभयो।

“हामी संसारमा आउँदा केही लिएर आएका थिएनौँ र संसार छाडेर जाँदा पनि केही साथमा लिएर जाने छैनौँ। हामी खाली हात आएका हौँ र खाली हात नै जानेछौँ,” उहाँले भन्नुभयो। सम्पूर्ण सृष्टि निराकार परमात्माको भएकाले आफूभित्र ‘मेरो’ र ‘तेरो’ भन्ने भाव त्यागी सेवा, प्रेम, विनम्रता र मानवताको मार्गमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। सत्संगमा सहभागी हुँदा बाहिरी आडम्बरभन्दा सरलता, अनुशासन र विनम्रता आवश्यक रहेको बताउँदै उहाँले सत्संगमा सुनेका ज्ञान र विचार व्यवहारमा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिनुभयो। “हाम्रो बोलीभन्दा कर्म बोल्न सकोस्, तब मात्र हामी सच्चा निरंकारी अनुयायी बन्न सक्छौँ,” उहाँले बताउनुभयो।

उहाँले महर्षि वाल्मीकिको प्रसङ्ग उल्लेख गर्दै सत्संग र सन्तको संगतले मानिसको जीवनमा ल्याउन सक्ने सकारात्मक परिवर्तनबारे प्रकाश पार्नुभयो। विगतमा रत्नाकर नामका डाँकुका रूपमा जीवन बिताएका वाल्मीकि ऋषि सन्तहरूको संगत र आध्यात्मिक ज्ञान प्राप्त गरेपछि महान ऋषिका रूपमा स्थापित भएको प्रसङ्ग सुनाउँदै सत्संगले मानिसभित्र विवेक र ज्ञानको ज्योति प्रज्वलित गर्ने बताउनुभयो।

अध्यक्ष रावलले सहारा घरका प्रबन्धक बलबहादुर बिष्टले गरिब, असहाय, रोगी, पीडित तथा दुःखीहरूको सेवामा निरन्तर समर्पित भएर पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँप्रति हृदयदेखि नै सम्मान व्यक्त गर्नुभयो। अरूका दुःखमा साथ दिने, भोकालाई भोजन गराउने र असहायलाई सहारा दिने कार्य नै वास्तविक मानव सेवा तथा आध्यात्मिक साधना भएको उहाँले बताउनुभयो।

उहाँले आफ्नी आमाको ४५औँ पुण्यतिथिको अवसरमा सहारा घरमा पुगेर असहाय तथा गरिब व्यक्तिहरूलाई भोजन गराइएको जानकारीसमेत दिनुभयो। समाजमा रहेका पीडित र असहायहरूको सेवामा सबैले आ–आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

तेजबहादुर बोहराको हरदेव वाणी गायनबाट प्रारम्भ भएको कार्यक्रममा रूपाजी, शेरबहादुर, मनसरा साउद, बिर्ख बुढा, रत्ना, सीता, बलबहादुर रावल, तेजबहादुर बोहरा, जगत, लालबहादुर बुढा, जानकी रावल, हारमती थापा, हर्कबहादुर रावल, हर्क कुँवर, रमेश जोशी, देवराज रिमाल, हेमन्त रावल, विजय सिंह कुँवर, रूपा, धरान, जय खिमा र मोहन रावललगायतले भजन तथा प्रवचनमार्फत आफ्ना आध्यात्मिक भाव प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुरत बिष्टले गर्नुभएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।