टीकापुरमा रास्वपा सुदूरपश्चिम सभापति प्रकाश बिष्टसँग भेटघाट तथा अन्तरक्रिया

टीकापुर, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्टसँग टीकापुरमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय स्तरमा पार्टीको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा पार्टीको संगठन विस्तार, आगामी राजनीतिक रणनीति, जनतासँगको सम्बन्ध विस्तार तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल भएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी पदाधिकारी, सदस्य, शुभेच्छुक तथा कार्यकर्ताहरूले पार्टीको आगामी कार्यदिशा, संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्ने रणनीति, जनताका समस्या र अपेक्षालाई पार्टीको प्राथमिकतामा समेट्ने विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
अन्तरक्रियाका क्रममा स्थानीय तहमा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउँदै जनतासँग प्रत्यक्ष संवाद र सहकार्य बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। पार्टीको संगठनलाई केवल राजनीतिक संरचनामा सीमित नराखी स्थानीय जनजीवनसँग जोडिएका विषयमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझावसमेत दिइएको थियो।
त्यसैगरी आगामी दिनमा पार्टीका गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने, युवाहरूको सहभागिता बढाउने तथा नयाँ पुस्तालाई राजनीतिक प्रक्रियामा जोड्ने विषयमा समेत छलफल भएको बताइएको छ।
कार्यक्रममा प्रदेश सभापति बिष्टले पार्टीको संगठन विस्तार तथा आगामी रणनीतिका विषयमा सहभागीहरूबाट आएका सुझावलाई महत्वपूर्ण रूपमा लिइने बताउनुभएको थियो। स्थानीय तहमा पार्टीलाई बलियो बनाउन कार्यकर्ता, शुभेच्छुक तथा समर्थकबीच आपसी समन्वय, सहकार्य र सक्रियता आवश्यक रहेको उहाँले बताउनुभएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.