गाँजा र निद्राको औषधि सेवन गरेका पाइलटका कारण जहाज ३०० फिट तल खसेको खुलासा

नयाँ दिल्ली । थाइल्यान्डको फुकेतबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको जहाज उडानका क्रममा अचानक ३०० फिट तल खस्दा २४ जना घाइते भएको घटनामा पाइलटको गम्भीर लापरवाही खुलेको छ।
एयर इन्डियाको आन्तरिक सुरक्षा रिपोर्टअनुसार जहाज नियन्त्रणमा समस्या आउनुमा मुख्य पाइलटले गाँजा सेवन गरेको तथा निद्राको औषधि प्रयोग गरेको विषयलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ।
गत अगस्ट ४ मा फुकेतबाट दिल्लीका लागि उडेको एआई–२३७९ नम्बरको एयरबस ए३२० नियोमा १३७ यात्रु र आठ जना चालक दलका सदस्य सवार थिए। ओडिशाको आकाशमाथि पुगेका बेला जहाज अचानक करिब ३०० फिट तल खसेको थियो। घटनामा २० यात्रु र चार चालक दलका सदस्य गरी २४ जना घाइते भएका थिए। जहाजलाई पछि दिल्लीमा सुरक्षित अवतरण गराइएको थियो।
घटनापछि गरिएको लागूऔषध परीक्षणमा मुख्य पाइलटको शरीरमा गाँजाको मात्रा भेटिएको जनाइएको छ। रिपोर्टअनुसार उनी लगातार दुईपटक गरिएको ड्रग परीक्षणमा समेत पोजेटिभ देखिएका थिए।
मुख्य पाइलटले आफू व्यक्तिगत समस्याका कारण निद्रा नलाग्ने समस्याबाट पीडित रहेको र पारिवारिक चिकित्सकको सल्लाहमा निद्राको औषधि सेवन गरिरहेको स्वीकार गरेको बताइएको छ। फुकेतमा विश्रामका क्रममा पर्याप्त निद्रा नपाएकोसमेत उनले बयान दिएका छन्।
जहाज ३०० फिट तल खस्दा मुख्य पाइलट ककपिटमा थिएनन्
घटनाको अर्को गम्भीर पक्ष जहाज अचानक तल खसेका बेला मुख्य पाइलट ककपिटमा नरहेको विषय हो। भारतीय सञ्चारमाध्यममा प्रकाशित घटनासम्बन्धी विवरणअनुसार त्यस समयमा जहाजको कमान्ड सह–पाइलटले सम्हालिरहेका थिए।
जहाज अचानक तल खसेपछि मुख्य पाइलट ककपिटबाट बाहिरिएर यात्रुहरूको अवस्था बुझ्न केबिनतर्फ गएको बताइएको छ। त्यहाँ पुगेर उनले घाइते यात्रुहरूलाई आफ्नो वा जहाजको भिडियो तथा फोटो नखिच्न भनेको विवरणमा उल्लेख छ।
दिल्ली विमानस्थलमा जहाज अवतरण गरेपछि समेत पाइलटको अवस्था असामान्य देखिएको रिपोर्टमा उल्लेख छ। उनी आफैँ हिँड्न नसक्ने अवस्थामा रहेको र अन्य व्यक्तिको सहारा लिनुपरेको बताइएको छ। पिसाबको नमुना परीक्षणका लागि लैजाँदा समेत उनलाई अधिकारीहरूले समातेर लैजानुपरेको जनाइएको छ।
फुकेतमा चालक दललाई पार्टी
उडानअघि फुकेतमा मुख्य पाइलटले चालक दलका अन्य सदस्यहरूलाई पार्टी दिएको विषयसमेत अनुसन्धानका क्रममा खुलेको छ। दिल्लीबाट फुकेततर्फको उडानका क्रममा पाइलट शौचालय जाँदा नियमअनुसार एक जना एयरहोस्टेसलाई ककपिटमा बोलाइएको थियो।
ती एयरहोस्टेसले आफ्नो जिम्मेवारी उचित रूपमा पूरा नगरेको भन्दै पाइलटले उनलाई गाली गरेको र पछि उक्त विषय मिलाउन फुकेतमा चालक दलका सदस्यहरूलाई पार्टीमा लगेको विवरणमा उल्लेख छ।
पाइलटले एयरलाइन्सको उडान तालिकाका कारण दिउँसोको समयमा पर्याप्त आराम गर्न नपाएको दाबीसमेत गरेका छन्। यद्यपि, उडानका क्रममा लागूऔषध तथा निद्राको औषधि सेवन, ककपिटबाट बाहिरिनु तथा अन्य सुरक्षा मापदण्ड उल्लङ्घनका विषयलाई गम्भीर रूपमा लिइएको छ।
घटनापछि एयर इन्डियाले अनुसन्धान पूरा नहुँदासम्म मुख्य पाइलट र सह–पाइलट दुवैलाई उडानबाट निलम्बन गरेको छ। भारतको नागरिक उड्डयन प्राधिकरण र एयर इन्डियाले घटनाको थप अनुसन्धान गरिरहेका छन्। अनुसन्धानको अन्तिम निष्कर्षपछि घटनाको वास्तविक कारण तथा जिम्मेवारीबारे थप स्पष्ट हुने बताइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
