मुक्ति कर्मकाण्डबाट होइन, ब्रह्मज्ञानबाट सम्भव हुन्छ : महात्मा बोहरा

टीकापुर, ३० साउन । मुक्ति पर्वको अवसरमा आयोजित विशेष सत्संग कार्यक्रममा पुरातन तथा ज्ञान प्रचारक महात्मा नवलसिंह बोहराले मानव जीवनको वास्तविक उद्देश्य मुक्ति प्राप्त गर्नु रहेको बताउँदै ब्रह्मज्ञानमार्फत जिउँदै मुक्तिको मार्गमा अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ।

सत्संगलाई सम्बोधन गर्दै महात्मा बोहराले संसारमा समय–समयमा आएका सन्त, महात्मा, पीर–पैगम्बर तथा आध्यात्मिक महापुरुषहरूले मानव जातिलाई मुक्ति प्राप्तिको मार्ग देखाउने कार्य गरेको बताउनुभयो। उहाँले सन्त निरंकारी मिशनका बाबा बुटा सिंहजी, बाबा अवतार सिंहजी, बाबा गुरबचन सिंहजी, बाबा हरदेव सिंहजी तथा सद्गुरु माता सविन्दर हरदेव सिंहजी लगायतका सत्गुरुहरूले पनि मानवलाई मानवकै रूपमा प्रेम, सेवा, सद्भाव र समर्पणका साथ जीवन जिउँदै मुक्तिको मार्गमा अघि बढ्न प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले सर्वव्यापी निराकार परमात्माले नै सम्पूर्ण जीव–जगतको सृष्टि गर्नुभएको र सम्पूर्ण प्राणीको कल्याण गरिरहनुभएको बताउनुभयो। निराकार परमात्मालाई भौतिक आँखाले देख्न नसकिने भए पनि सद्गुरुले प्रदान गर्ने ब्रह्मज्ञानरूपी ज्ञानचक्षुबाट परमात्माको साक्षात्कार गर्न सकिने उहाँको भनाइ थियो। ब्रह्मज्ञान प्राप्त भएपछि मानवले आफूभित्रै रहेको निराकार परमात्माको अनुभूति गर्न सक्ने र यही अनुभूतिले जीवनलाई वास्तविक मुक्तिको मार्गमा डोर्याउने उहाँले स्पष्ट पार्नुभयो।
मुक्ति पर्व केवल परम्परागत रूपमा मनाउने पर्व मात्र नभई यसको वास्तविक अर्थ आत्मिक मुक्ति र परमात्मासँगको साक्षात्कार रहेको उहाँले बताउनुभयो। “हामीले मुक्ति पर्वलाई सांसारिक परम्परा र रीतिरिवाजका रूपमा लामो समयदेखि मनाउँदै आएका थियौँ। तर सद्गुरुको चरणमा आएपछि वास्तविक मुक्ति के हो र त्यसको मार्ग के हो भन्ने कुरा बुझ्न पायौँ,” उहाँले भन्नुभयो। उहाँका अनुसार ब्रह्मज्ञानबिना मानव जीवनको वास्तविक उद्देश्य पूरा हुन नसक्ने भएकाले सद्गुरुको कृपाबाट प्राप्त ब्रह्मज्ञानलाई जीवनमा व्यवहारमा उतार्नु आवश्यक छ।

ब्रह्मज्ञान प्राप्त गर्नुअघि मानिसले यज्ञ, दान, तीर्थ, व्रत, जप, तप, पूजा–पाठ लगायतका विभिन्न धार्मिक तथा सांसारिक कर्महरू गर्दै स्वर्ग, बैकुण्ठ वा मोक्ष प्राप्त हुने विश्वास गर्ने गरेको उल्लेख गर्दै महात्मा बोहराले वास्तविक मुक्ति बाह्य कर्मकाण्डभन्दा आत्मज्ञान र परमात्माको अनुभूतिसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँले मानव जीवनको सार केवल खानु, पिउनु, सुत्नु र कर्मकाण्डमा सीमित नरहेको बताउँदै ब्रह्मज्ञान नै भवसागर पार गर्ने माध्यम भएको उल्लेख गर्नुभयो।
सन्तहरूको चरण स्पर्श गर्नुको आध्यात्मिक महत्वबारे प्रकाश पार्दै उहाँले यसले मानिसभित्रको अहंकार र घमण्डलाई समाप्त गर्दै सेवक भाव जागृत गराउने बताउनुभयो। सेवक भावका साथ जीवन जिउँदा प्रत्येक मानवलाई आफ्नै परिवारको सदस्यका रूपमा हेर्ने, प्रेम गर्ने, सेवा गर्ने र सत्कार गर्ने भावना विकास हुने उहाँको भनाइ थियो। यही निःस्वार्थ सेवा र समर्पणले मानव जीवनलाई सार्थक तथा उद्धारको मार्गमा अग्रसर गराउने उहाँले बताउनुभयो।

वर्तमान सद्गुरु माता सुदीक्षाजी महाराजले संसारभरका मानवलाई ब्रह्मज्ञान प्रदान गर्दै आत्मिक जागरण र मुक्ति प्राप्तिको मार्गमा डोर्याइरहनुभएको महात्मा बोहराले बताउनुभयो। उहाँले सद्गुरु माता सुदीक्षाजीको निरन्तर आध्यात्मिक यात्राले मानव कल्याणको सन्देश विश्वका विभिन्न कुनाकाप्चासम्म पुर्याइरहेको उल्लेख गर्दै ब्रह्मज्ञानको कोसेलीमार्फत मानव जीवनमा जागृति ल्याउनु ठूलो आध्यात्मिक सौभाग्य भएको बताउनुभयो।
कार्यक्रममा मुम्बईबाट आउनुभएका गीतकार तथा गायक शेर अमरले मुक्तिको भाव समेटिएको भावपूर्ण भक्ति रचना प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तुतिले सत्संगमा उपस्थित भक्तजनलाई भावविभोर बनाएको थियो।

सत्संगमा सहभागी सन्त–भक्तहरूले भजन तथा प्रवचनमार्फत मुक्ति पर्वको महत्व, यसको आध्यात्मिक इतिहास तथा जिउँदै मोक्षको भागीदार बन्न सकिने मार्गका विषयमा प्रकाश पारेका थिए । मुक्ति पर्वले बाह्य कर्मकाण्डभन्दा माथि उठेर आत्मचिन्तन, ब्रह्मज्ञान, मानव सेवा, प्रेम, समर्पण र सद्भावका माध्यमबाट जीवनलाई सार्थक बनाउने आध्यात्मिक सन्देश दिएको थियो भने कार्यक्रमको सञ्चालन सह-शिक्षक चन्द्र सिंहले गर्नुभएको थियो।
मुक्ति पर्वको अवसरमा आयोजित कार्यक्रममा करिब १ हजार ४ सय भक्तजनको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी भक्तजनका लागि भोजनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.