तुलसीपुरबाट दुई दिदीबहिनी चार दिनदेखि सम्पर्कविहीन

दाङ , ७ भाद्र । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाका दुई दिदीबहिनी चार दिनदेखि सम्पर्कविहीन भएका छन्। घरबाट घोराहीमा साथीकोमा जाने भन्दै निस्किएका १३ वर्षीया रचना जैसी र १८ वर्षीया चन्द्रमा जैसी त्यसपछि परिवारको सम्पर्कमा नआएका हुन्।
परिवारका अनुसार गत बिहीबार बिहान करिब साढे ९ बजे दुवै जना घरबाट बाहिरिएका थिए। कक्षा ९ मा अध्ययनरत रचना र कक्षा १२ मा अध्ययनरत चन्द्रमा घोराहीमा रहेका साथीको घर जाने भन्दै निस्किएको बताइएको छ।
दुवै जना लामो समयसम्म घर नफर्किएपछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानमा खोजी गरेको थियो। तर शनिबार बेलुकासम्म उनीहरूको कुनै जानकारी प्राप्त नभएपछि परिवारले राति करिब ८ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि निवेदन दिएको हो।
रचना बखरियाका कमल जैसीकी छोरी हुन् भने चन्द्रमा कमलका दाजुकी छोरी रहेको परिवारले जनाएको छ। दुवै जना आफन्तको नाताले दिदीबहिनी पर्छन्।
प्रहरीका अनुसार उनीहरू घरबाट निस्किएपछि कहाँ पुगे भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। निवेदन प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी तथा घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
परिवारले दुवै दिदीबहिनीको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आग्रह गरेको छ। चार दिनदेखि दुई किशोरी सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
