विवाहको एक वर्ष नपुग्दै पूजाको मृत्यु, दाइजो यातनाको आरोपमा श्रीमान्–नन्द कारागार

धनगढी । धनगढीकी २३ वर्षीया पूजा धानुकको मृत्यु प्रकरणमा जिल्ला अदालत कैलालीले उनका श्रीमान् ३१ वर्षीय भरत धामी र नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धानुकको विवाह धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका भरत धामीसँग गत मङ्सिरमा भएको थियो। विवाह भएको एक वर्ष नपुग्दै गत साउन ११ गते पूजा आफ्नै घरमा सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। पूजाको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।
माइती पक्षले भरतको परिवारले दाइजोको विषयलाई लिएर पूजालाई मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप लगाएको छ। सोही आरोपका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अदालतले प्रारम्भिक अनुसन्धानका आधारमा भरत र भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। घटनाबारे थप अनुसन्धान तथा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
