रसुवामा बाढीको कहर : टनेलभित्र फसेका ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

रसुवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चिन्ता बढिरहेका बेला नेपाली सेनाले ठूलो संख्यामा मजदुर तथा स्थानीयको उद्धार गरेको छ।
प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्त जोखिमपूर्ण परिस्थितिका बीच नेपाली सेनाको टोलीले आज टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको सकुशल उद्धार गरेको हो। टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको जनाइएको छ। उनीहरूलाई पनि सुरक्षित बाहिर निकाल्न नेपाली सेनाको टोली निरन्तर उद्धारमा खटिएको छ।
टनेलभित्रको जटिल उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।
यसैगरी, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ। सी क्यू आर टी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसी लगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।
जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमको बेवास्ता गर्दै उच्च साहस, तदारुकता र समर्पणका साथ उद्धारमा खटिएको नेपाली सेनाले आज रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट कुल ८८३ जना मजदुर तथा स्थानीयको उद्धार गरेको हो।
नेपाली सेनाको सक्रियताले बाढीबाट हुन सक्ने ठूलो मानवीय क्षति रोक्न महत्वपूर्ण योगदान पुगेको छ। उद्धार कार्य अझै जारी रहेको जनाइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
